टोकियो, जापान ।
यस वर्षको नोभेम्बर १ तारिखदेखि साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेमाथि कडा कारवाही हुने भएको छ । साइकल चलाउँदा फोन प्रयोग गर्नु कानूनद्वारा निषेध गरिएको छ र नोभेम्वर देखि त्यस्तो विचलित ड्राइभिङ गर्नेमाथि जरिवाना हुनेछ ।
साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्ने मानिसहरू निरन्तर बढ्दा यस्तो कडा नियम लागू हुन लागेको छ । यस वर्ष मे मा लागू गरिएको संशोधित सडक ट्राफिक ऐनले 'विचलित ड्राइभिङ' लाई निषेध गरेको छ र नयाँ जरिवानाहरू तोकिएको छ ।
३० गते बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षको नोभेम्वर १ तारिखदेखि नयाँ नियम लागू हुने मिति तय गरेको हो ।
▽मोबाईल फोन प्रयोग गर्दा साइकल चलाएर दुर्घटना वा अन्य खतरा उत्पन्न गरेमा एक वर्षसम्म कैद वा तीन लाख येनसम्म जरिवाना हुनेछ,
▽ यदि तपाइँ फोनको स्क्रिनमा ध्यान दिंदै साइकल चलाएको फेला पर्नु भएमा छ महिना सम्म कैद वा एक लाख येन सम्म जरिवाना हुनेछ।
राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार यस वर्षको जुन सम्मको छ महिनामा साइकलमा ‘विचलित भएर सवारी चलाउँदा’ १८ वटा घातक र गम्भीर चोटपटकका दुर्घटना भएका छन् र यो क्रम निरन्तर बढ्दै गएकोले सरकारले जरिवाना रकम र सजाय बढाउने निर्णय गरेको हो । यसको उदेश्य खतरनाक साइकल चलाउन निरुत्साहन गर्ने उदेश्य रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।
मदिरा सेवन गरी साइकल चलाउनेलाई नोभेम्बरदेखि कैद वा जरिवाना हुने छ, यसअघि यस्ता घटना जरिवानाको अधीनमा थिएन ।