(Japan) 12 th September | 2024 | Thursday | 2:15:13 AM || (Nepal) 11:00:13 PM
 
 


जापानमा महा-भूकम्पको चेतावनी के हो ? जोखिमको सम्भावना र गर्नुपर्ने तयारीहरु

Gokarna Adhikari   POSTED ON : Sunday, 11 August, 2024 | Views : 4098

जापानमा महा-भूकम्पको चेतावनी के हो ? जोखिमको सम्भावना र गर्नुपर्ने तयारीहरु


टोकियो, जापान ।

जापानका भूकम्प सम्वन्धि वैज्ञानिकहरू भन्छन् कि देशले एक दिन सम्भावित महाभूकम्पको लागि तयार हुनुपर्छ जसमा परेर दशौं हजार मानिसको ज्यान जान सक्छ । यद्यपि उनीहरू भन्छन कि ठूलो भूकम्पको धक्का यहि दिनि तत्काल आउँदैछ भन्ने होइन ।


सन् २०११ को भूकम्प, सुनामी र आणविक प्रकोपका कारण १८,५०० मानिसको ज्यान गएपछि जापान मौसम विज्ञान एजेन्सीले बिहिबार इतिहासमै पहिलो पटक अग्रिम रुपमा महाभूकम्पको चेतावनी जारी गरेको छ ।


सम्भावित ‘मेगा अर्थ क्विक’ महाभूकम्पको बारेमा हामीले के जान्न आवश्यक छ ?


जापान मौषम विज्ञान एजेन्सीको महा भूकम्प ‘एडभाइजरी’ ले यदि भविष्यमा ठूलो भूकम्प आयो भने, शक्तिशाली कम्पन र ठूलो सुनामी उत्पन्न हुने चेतावनी दिएको छ ।


जापानमा छिट्टै नयाँ ठूलो भूकम्पको सम्भावना सामान्य अवस्थामा भन्दा बढी छ, तर यो कुनै निश्चित अवधिमा ठूलो भूकम्प आउँछ भन्ने पक्का भने होइन । मात्र अघिपछिको तुलनामा अहिले त्यस्तो सम्भावना अत्यधिक पाइएको एजेन्सीका अधिकारीहरु प्रष्ट पार्छन ।


विज्ञहरुले प्रशान्त महासागरमा दुई टेक्टोनिक प्लेटहरू बीचको नानकाई ट्रफ सबडक्शन जोनू मा अधिक चिन्ता व्यक्त गरेका छन् । जहाँ विगतमा ठूलो भूकम्प गएको थियो ।


नानकाई ट्रफ के हो ?


८०० किलोमिटर लामो समुद्रमुनिको कुण्ड टोकियोको पश्चिममा रहेको शिजुओकाबाट क्युसु टापुको दक्षिणी छेउसम्म फैलिएको छ ।


यो प्रत्येक शताब्दी वा दुई शताब्दीमा ८ वा ९ म्याग्निच्युडको विनाशकारी भूकम्पको मुख्य केन्द्र बन्दै आएको छ । यसलाई इतिहाँसका बिनासकारी महाभूकम्पहरुले पुष्टि गर्छ ।


‘मेगाथ्रस्ट’ भूकम्पहरू दोहोरिएर जान्छन्, अर्थात् एकपछि अर्को छोटो समयावधिमा जाने हुनाले यसले जापानको दक्षिणी तटमा खतरनाक सुनामीहरू फैलाउन सक्छ । जसबाट मानविय र भौतिक क्षतिको भयावह अवस्था ल्याउने जोखिम छ ।


सन् १७०७ मा, ‘नानकाई ट्रफ’का सबै खण्डहरू एकैचोटि फुटेको थियो । जुन भूकम्प जापानको दोस्रो सबैभन्दा शक्तिशाली भूकम्पको रुपमा दर्ज भएको छ ।

त्यो भूकम्प, जसले माउन्ट फुजीको अन्तिम विष्फोटलाई पनि निम्त्याएको थियो ।


त्यसपछि सन् १८५४ मा दुई शक्तिशाली नानकाई मेगा थ्रस्टहरू र त्यसपछि १९४४ र १९४६ मा त्यस्तै शक्तिशाली बिनास निम्त्याउने भूकम्पहरु गएका छन् ।


महाभूकम्पको खतरा जोखिम कत्तिको छ ?

जापानका अधिकारीहरूले देशका विभिन्न क्षेत्रका मानिसहरूलाई सम्भावित ठूलो भूकम्पबाट सावधानी अपनाउन आग्रह गरिरहेका छन्।


क्युसुमा गएको ७.१ म्याग्निच्युडको भूकम्पपछि सोही दिन (बिहीबार) पहिलो पटक महाभूकम्पको विशेष सूचना जारी गरेको थियो ।


जापान सरकारले यसअघि नै नानकाई ट्रफमा ८ देखि ९ म्याग्निच्युडको मेगाकम्पन ३० वर्षभित्र आउने करिब ७० प्रतिशत सम्भावना रहेको बताएको थियो ।


सबैभन्दा खराब स्थितिमा ३००,००० मानिसहरुले ज्यान गुमाउन सक्ने विज्ञहरूले अनुमान गरेका छन्, केही इन्जिनियरहरूले पूर्वाधार नष्ट भएपछि क्षति १ सय ३० खर्ब पुग्नसक्ने बताएका छन् ।


‘नानकाईमा ठूला भूकम्पहरूको इतिहास निश्चित रूपमा डरलाग्दो छ’ भूगर्भशास्त्री काइल ब्राडली र जुडिथ ए हबर्डले उनीहरूको भूकम्प इनसाइट्स न्यूजलेटरमा लेखेका छन् ।

‘भूकम्पको भविष्यवाणी असम्भव हुँदा, एउटा भूकम्पको घटनाले अर्को भूकम्पको सम्भावना बढाउँछ’ उनीहरूले बताए ।


जनता कत्तिको चिन्तित हुनुपर्छ ?


जापानले भूकम्प प्रभावित क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई फर्निचर सुरक्षित गर्नेदेखि नजिकैको निकासी आश्रयस्थलको स्थान जान्नसम्म सामान्य सावधानी अपनाउन सम्झाइरहेको छ ।


देशका धेरै घरपरिवारले बोतलको पानी, लामो समयसम्म खान मिल्ने खानेकुरा, टर्च, रेडियो र अन्य व्यवहारिक वस्तुहरू सहितको आपतकालिन वस्तुहरु सुरक्षित राख्न थालेका छन् । जसले सामान्यत कम्तिमा १ हप्ता दैनिकि चलाउन सकियोस् ।


तर ब्राडली र हबर्ड भन्छन् आत्ति हाल्नुपर्ने आवश्यकता छैन । त्यहाँ केवल ‘सानो सम्भावना’ छ कि बिहीबारको ७.१ म्याग्निच्युडको भूकम्प एक विगतका भूकम्पहरुकै निरन्तरता हो ।


“चुनौतीहरूमध्ये एउटा यो हो कि दोस्रो भूकम्पको जोखिम उच्च हुँदा पनि यो सधैं न्यून रहन्छ,” उनीहरूले भने ।


जापानमा रहेका नेपालीहरुले के बुझ्नु पर्दछ ?

जापानले पछिल्लो पटक जारी गरेको महा भूकम्पको चेतावनी विशेषगरि खागोशिमा देखि शिजुओखा सम्मको सामुन्द्रिक क्षेत्र आसपास जारी गरेको छ ।


ति क्षेत्रहरुमा तोकाइको शिजुओखा, आईची, मिए यस्तै किन्कि क्षेत्रको मिए, नारा, वाकायामा र ओसाका देखि ह्योगो प्रान्तसम्म धेरै असर पार्नसक्दछ ।


प्रत्यक्ष बढि प्रभावित हुनेमा किन्कि क्षेत्रको तोकुसिमा, कागावा, कोची र एहिमे प्रान्तहरु पर्नसक्ने क्षेत्र रहेका छन् ।


यो सँगै क्युशु क्षेत्रको ओइता, मियाजाकी र खागोशिमा प्रान्तहरु महाभूकम्पबाट बढि असर पर्ने प्रान्तहरुमा पर्ने उच्च सम्भावना छ ।

नान्काई ट्रफ क्षेत्रले समेट्ने यि प्रान्तहरु सहित आसपासका अन्य भूभागपनि भूकम्पको केन्द्रबिन्दु, सुनामीको छाल र कम्पनको लहर कस्तो आउँछ भन्ने कुराले प्रभावित हुने अवस्थामा निर्भर गर्दछ ।


त्यसैले माथि उल्लेखित क्षेत्र र जापानमा अन्य जुनसुकै क्षेत्रमा बस्नुहुने सबैले जापानको मौषम विज्ञान एजेन्सीले जारी गर्ने सूचना, स्थानिय निकायको निर्देशन र अनुरोधहरुलाई पालना र पछ्याउनुपर्दछ ।


महाभूकम्प पछिको अवस्थामा खाने पानि र नपकाई खाने खानाको उच्च माग हुने हुँदा केहि दिनका लागि पुग्ने त्यस्ता खाना किनेर राख्नुपर्दछ ।

आफ्ना महत्वपूर्ण कागजातहरु पासपोर्ट, जाइरियु कार्ड र अन्य परिचयपत्र विद्यार्थी, सवारी चालक, होकेन, माईनम्बर तथा क्रेडिट कार्ड, केहि नगद रकम लगायत घरमा रहँदा सजिलै एकैपटक बोकेर हिँड्न मिल्ने वा पछि खोज्दा सहज फेला पार्नेगरि एकसाथ राख्नुपर्दछ ।


नगद तथा गहनाहरु एकसाथ राख्ने, नियमित औषधि सेवन गर्नुपर्नेहरुले केहि दिनका लागि आवश्यक औषधि किनेर साथमा राख्नु महाभूकम्पका पूर्व तयारीहरु हुन् ।


यसमा छुटाउनै नहुने कुरा आफ्नो आफन्त, प्रियजन लगायतलाई आफु सुरक्षित रहेको जानकारी दिन अत्यावश्यक फोन नम्वरहरु याद गर्ने वा कापिमा लेखेर पनि राख्नुहोला । बिपदमा सुरक्षित रहनुपर्दा फोन हराएमा वा नेटवर्कले काम नगरेमा आपतकालिन नम्वरहरुबाट फोन गरेर जानकारी दिन सकियोस् ।


आफु बस्ने घर नजिक, काम गर्ने स्थानको नजिक बिपदको समयमा कहाँ गएर सुरक्षित बस्ने भन्ने स्थानिय निकायले तोकेका ठाउँहरु पहिचान गर्न नभुल्नुहोला ।