(Japan) 12 th September | 2024 | Thursday | 12:50:38 AM || (Nepal) 9:35:38 PM
 
 


जापानमा नेपालीहरुको संख्या १७६३३६, हालसम्मकै उच्च

  POSTED ON : Thursday, 18 April, 2024 | Views : 1652

जापानमा नेपालीहरुको संख्या १७६३३६, हालसम्मकै उच्च


टोकियो, जापान ।

जापान सरकार अध्यागमन  बिभागले हालै जापानमा रहेका विदेशीहरुको तथ्यांक प्रकाशित गरेको छ। जस अनुसार सन् २०२३ डिसेम्बर ३१ लाई आधार मान्दा जापानवासी नेपालीहरुको संख्या एक लाख छैहत्तर हजार तीनसय छत्तिस पुगेको छ। सन् २०१३को अन्त्य सम्ममा जापानमा बसोबास गर्ने नेपालीको संख्या ३१,५३७ मात्र थियो। हाल यो संख्या बढेर १७६,३३६ पुगेको छ । यसले आफ्नो अध्ययन वा रोजगारीको लागी कर्मथलोको रुपमा जापान रोज्ने नेपालीहरु बढ्नुको साथै दुई देशबीचको सम्बन्ध समधुर रहनुको साथै अझ गहिरो हुँदै गएको देखाउँछ। 


हालै प्रकाशित तथ्यांकले जापानमा बस्ने नेपालीहरुलाई भिषाको आधारमा हेर्दा सबैभन्दा धेरै बिद्यार्थी रहेको र त्यसपछी क्रमशः डिपेन्डेन्ट परीवार, इन्जिनियर तथा अन्तराष्ट्रिय सेवा, कुक लगाएतका बिशेष दक्षताका ब्यक्तिहरु, स्थाइ वसोबास गर्नेहरु,  निर्दिष्ट सीपका कामदारहरु, प्रशिक्षार्थी कामदारहरु, जापानी नागरीकका परीवारहरु आदि पर्दछन।

बिधार्थीको हकमा सन् २००० मा करिव ३०० जनाको हाराहारीमा नेपालीहरु अध्ययन गरेकोमा हाल यो संख्या ५५ हजार ६ सय ४ पुगेको छ। गत बर्ष सम्म जापानमा अध्ययन गर्ने कुल विदेशीहरुमा चीन, भियतनाम पछी नेपालीहरु तेस्रो स्थानमा थिए भने यो बर्ष भियतनामलाई तेस्रो पार्दै नेपाली विद्यार्थीहरुको संख्या दोस्रो भएको छ।


जापानमा नेपाली जनसंख्याको बृद्धि हुनुमा धेरै कारक तत्वहरु रहेका छन् । पहिलो, नेपाली विद्यार्थीहरू उच्च शिक्षाको लागि वा उज्वल भविष्यको लागी विदेश जाने चलन जस्तै भैसकेको र आर्थिक रुपमा मध्यम बर्गिय परीवारबाट पनि हप्तामा २८ घण्टा काम गर्दै भाषा तथा व्यवसायिक शिक्षा लिन सकिने कारण जापान धेरै नेपाली विद्यार्थीहरुको लागी लोकप्रिय गन्तव्य बनेको छ। जापानी विश्वविद्यालयहरूले शैक्षिक अवसरहरूको साथसाथै उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्न वातावरण तयार पारेको छ। साथै विश्व विद्यालय भित्र वा बाहिर पनि विविन्न किसिमका अवसरहरु सम्भावना भएकोले उच्च-गुणस्तर शैक्षिक प्रणाली भएको देशको रुपमा पनि जापान परिचित छ र नेपाली लगायत विदेशी विद्यार्थीहरुको लागी आकर्षक गन्तव्य बनेको पाइन्छ। जापानमा आरुबाइतो भनिने पार्ट टाइम जब गर्ने आर्थिक अवसर र अध्यन पश्चात रोजगारीका विकल्पहरू बढ्नुका साथै  हाल नेपालीबाट विद्यार्थीमा नभइ सिधै रोजगारीमा जापान आएर काम गर्न सक्ने दुइदेश बिच सम्झौता भएकाले कामदारहरूलाई पनि जापानतर्फ आकर्षित गरिरहेका छन्, जो उत्पादन, सेवा र कृषिलगायत विभिन्न क्षेत्रमा सक्रिय छन्।


नेपालीहरुको संख्या बढ्दै गएको बेला उनीहरुको गुणस्तरमा पनि ध्यान दिन जरुरी छ । त्यसो त जापानमा प्राय होटलको फ्रन्ट, कन्बिनियन्स स्टोर, ओनसेन र्योकान (तातोपानी भएको स्नान गृह) , जेष्ट नागरिक स्याहार लगाएतका सेवामुलक काममा लागेका नेपालीहरु हँसिलो, आत्मिय, भाषा वा संस्कृति छिटो सिक्ने गरेको जापानीहरु बताउछन। उनीहरु नेपालीहरुको व्यवहार हेरेर खुसी भएको र अन्य शाखा वा उपशाकामा नेपालीनै कर्मचारी थप्न लागेको जस्ता किस्सा हरु पनि सुनाउने गर्दछन्। नेपालीहरूलाई आफ्नो नयाँ परिवेशमा सफल हुनका लागि जापानी भाषामा निपुणता पनि आवश्यक पर्दछ, जापानी तथा अन्य देशबाट आएका कर्मचारीहरु संग प्रभावकारी रूपमा सञ्चार वा संबाद गर्न, रोजगारीका अवसरहरूमा पहुँच गर्न र जापानी समाजमा पूर्ण रूपमा सहभागी हुन भाषाले ठुलो भूमिका खेल्दछ। जापानी भाषा सिक्नेले जापानी रीतिथिति र परम्पराहरू बारे बुझ्न र महसुस गर्न सघाउछ।  साथै सम्बन्धलाई अझ प्रगाड र गहिरो बनाउछ। भाषा कै कारण जापानी समुदायलाई नेपाल बारे चिनाउने अवसर पनि मिल्छ। यसरी साँस्कृतिक आदानप्रदानले नेपाली समुदायलाई जापानमा थप आरामदायी जीवनयापन गर्न मात्र नभई दुवै समूहबीचको आपसी सम्मान र सद्भावलाई प्रवर्द्धन गर्न पनि मद्दत गर्नेछ । नेपालमा नै विविधता बिचमा एकता अंगाल्दै साझा आधार खोज्न सक्षम हामी नेपालीहरुले जापानी समाजमा हुर्कदै गइरहेको विदेशीहरु संगको सहअस्तित्व सहितको जीवनयापनमा अग्रणी भूमिका खेल्दै आएका छौ र यो दुवै समुदायका लागि लाभदायक पनि छ।


अन्तयमा, जापानमा बढ्दो नेपाली जनसंख्याले अवसर र चुनौतीहरू दुवै ल्याएको छ। जापानमा बसोबास गर्ने नेपालीहरुको संख्या बढ्दै गएको बेला उनीहरुको जीवनस्तर र जापानी समाजमा नकरात्मक प्रभाव पर्न नदिने तर्फ पनि ध्यान दिनु आवश्यक छ । भाषा सिकेर सांस्कृतिक आदानप्रदानलाई प्राथमिकता दिएर नेपाली समुदायले जापानको बहुसांस्कृतिक परिदृश्यमा सक्रिय रूपमा योगदान पुर्‍याउदै आएको कुरालाई आउँदा दिनमा पनि निरन्तरता दिनु पर्दछ।

यदाकदा संचारमाध्यममा आउने नकरात्मक घट्नाहरुको न्युनिकरणका लागी जापानमा कृयासिल सबै संघ संस्थाहरुले  भूमिका खेल्नु आवश्यक देखिन्छ। 

जिज्ञान कुमार थापा, जापानको कानागावा प्रिफेक्चर गभर्नरका सल्लाहकार हुनुहुन्छ।