टोकियो, जापान ।
जापानले १ करोड येन वा सोभन्दा बढीको वार्षिक आम्दानी भएका डिजिटल घुमन्तेहरूका लागि ६ महिनाको भिसा जारी गर्ने योजना बनाएको छ ।
जापान अध्यागमन सेवा एजेन्सीले शुक्रबार यस्तो नयाँ घोषणा गरेको हो । कार्यक्रम मार्च मसान्तसम्ममा सुरु हुने बताइएको छ ।
डिजिटल घुमन्तेहरू जसले छोटो वा मध्यम अवधिको लागि कुनै एक ठाउँमा बसेर टाढाका कामहरु डिजिटल माध्यमबाट गर्ने मानिसहरूलाई बुझाउँछ ।
यसमा ४९ देश र क्षेत्रहरूका व्यक्तिहरु 'निर्दिष्ट गतिविधिहरू'को भिसा श्रेणी अन्तर्गत जापानमा रहन सक्नेछन् । यसमा कुनै कम्पनी अन्तर्गत मात्र नभई स्वतन्त्र व्यक्तिहरुले पनि आवेदन दिन पाउनेछन् ।
योग्य देशहरू र क्षेत्रहरूमा जापानले कर सन्धिहरू र छोटो अवधिको भिसाको आवश्यकतालाई हटाउने सम्झौताहरूमा हस्ताक्षर गरेका देशहरु पर्दछन् । जसमा अमेरिका, अष्ट्रेलिया, सिङ्गापुर लगायतका ४९ देश तथा क्षेत्रहरु रहेका छन् ।