टोकियो, जापान ।
तपाईं खाना पकाउँदै गर्दा चुलोबाट निस्केको आगोको ज्वालाले तपाईंको लुगा सल्काउन सक्छ, वा लामो समयसम्म चुलोको छेउमा बस्दा तपाईंको लुगा तात्तिएर आगो लाग्न सक्छ ।
खाना पकाउँदा पकाउँदै, आगो बालेर छाडेर अन्यत्र भुल्दा, कपडामा आइरन लगाउन बालेको आइरन जोडेर छोडिंदा, ग्याँस लिक भएर वा बालबालिकाहरुको असावधानी अनेक कारण घरायसी आगलागी हुने गर्दछन् ।
यस्तै अनेकन कारणबाट हुने आगलागीबाट जापानमा बर्षेनी लगभग १०० जनाले ज्यान गुमाउने गरेको सरकारी तथ्यांक छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आगलागी तथा विपद् व्यवस्थापन निकायका अनुसार गत वर्ष सन् २०२२ मा कपडामा आगलागीका कारण १०१ जनाको मृत्यु भएको थियो । तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा कुल वर्ष ५०१ जनाको आगलागीबाट निधन हुन पुगेको छ । अर्थात् प्रत्येक वर्ष लगभग १०० जनाको मृत्यु हुन्छ।
धेरै जसो आगो दैनिक गतिविधिहरूमा, जस्तै जलाउने, खाना पकाउँदा, वा धुम्रपान गर्दा हुन्छ ।
यस्ता सामान्य उपायबाट क्षति रोक्न सकिन्छ
नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड प्रोडक्ट इभ्यालुएसनका दाईकी ओकादा विशेष गरी फ्लफी वा फुस्रो लुगाहरू लगाएर आगोको छेउमा काम गर्दा सावधानी अपनाउनुपर्ने बताउँछन् ।
'फ्लफी' भन्नाले ऊनको सामग्री, फ्लेर्ड हेम्स र आस्तीन भएको कपडालाई बुझाउँछ ।
यस्ता कपडाको एक सामान्य भागलाई मात्र आगोले छोए पनि, आगो सजिलै फैलिन सक्छ । यसबाहेक सिल्कि खालका कपडाहरु जुन शरिरमा लगाएपनि सामान्य हावामा हल्लिन्छन् त्यस्ता कपडा आगोबाट टाढा राख्नु पर्दछ । अझ आगो निभाउँदा त्यस्ता लुगाहरू लगाउन झनै जोखिम पर्न जान्छ ।
ओकादाका अनुसार मानिसको शरिरमा आगो सल्किहालेमा सकेसम्म लुगा फुकाल्नु र नजिकै पानीको धारा वा पानीको कुनैपनि श्रोत छ भने पानी खन्याएर आगो निभाउने प्रयास गर्नुपर्छ ।
यदि तपाईं आफ्नो लुगा खोल्न सक्नुहुन्न र नजिकै पानी वा आगो निभाउने उपकरण छैन भने 'स्टप, ड्रप र रोल' विधि प्रभावकारी हुन्छ।
आगो लागेपछि यदि तपाईं हतारमा यताउता दौडनुभयो भने, हावाको सम्पर्कमा आगो झन छिटो शरिरमा फैलिन्छ ।
सबैभन्दा पहिले आगो लागेपछि शान्त होऔं र रोकौं । लुगा फुकाल्ने प्रयास गरौं । सम्भव नभएमा लगाएको लुगा सहित भुइमा लम्पसार परेर सुतौं ।
भुइँमा आगो बलिरहेको वा जलेको भागलाई थिच्नुहोस् ताकि त्यहाँ आगो बलिरहेको भाग जमिनमुनि परोस् र निभोस् ।
तर कार्पेट लगायत वस्तु ओछ्याएको भागमा यस्तो गर्नु झनै जोखिम हुन्छ ।
खाली भुईंमा सुतेर यताउता, यताउता घुमाएर लुगामा लागेको आगो निभाऔं ।
यो समयमा आफ्नो अनुहार आगोबाट जल्न नदिन दुवै हातले आफ्नो अनुहार छोप्न भने नभुल्नुहोस्।
कृपया आफ्नो जीवन र आपतकालिन अवस्थामा वरपरका मानिसहरूको सहयोग मागि हाल्नुहोस् । अनि तपाईं पनि आगो लागेका व्यक्तिको नजिकै हुनुहुन्छ भने पहिलो कर्तव्य मानिसको जीवन रक्षा गर्न समयमै सहयोग गर्नुहोस् ।
सँधै याद गर्नहोस् मानिसको शरिरमा आगलागी भएको अवस्थामा नियन्त्रण गर्नको लागि सबैभन्दा प्रभावकारी माध्यम आगो लागेको ठाउँ नजिकै खाली स्थानमा रोकिनुहोस् भुईंमा सुत्नुहोस् र आगो लागेको भागलाई जमिनमा पारेर छोप्दै यताउती लडिबुडि गर्नुहोस्, तर यो सबै काम गरिरहँदा अनुहारमा हात राखेर आफ्नो अनुहारलाई जोगाउन प्राथमिकता दिनुहोस् । जसलाई छोटकरीमा 'स्टप, ड्रप र रोल' विधि ख्याल गर्नुहोस् ।