टोकियो, जापान ।
नेपालको आईटी कम्पनी इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले ‘असोसियो डिजिटल गभरमेन्ट अवार्ड २०२४’ प्राप्त गरेको छ । एसियन-आसियान कम्प्युटिङ इन्डस्ट्री एसोसिएसन (असोसियो)ले जापानको टोकियोमा आयोजना गरेको डिजिटल समिटमा इन्फोडेभलपर्सलाई यो अवार्ड प्रदान गरिएको हो ।
असोसियो एसियाका २४ देशका सूचना प्रविधि क्षेत्रका संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । यस संस्थाले प्रत्येक वर्ष उत्कृष्ट योगदान पुर्याउने संस्था, कम्पनी तथा व्यक्तिहरूलाई सम्मान दिँदै आएको छ । यस वर्षको डिजिटल समिटमा एसिया-प्यासिफिक क्षेत्रका डिजिटल उद्योगका नेतृत्व, नवप्रवर्तक र विशेषज्ञहरूको सहभागिता थियो ।
“असोसियोबाट यो सम्मान पाउँदा गर्व महसुस गरिरहेका छौं,” अवार्ड ग्रहण गर्दै इन्फोडेभलपर्सका संस्थापक उमेश रघुवंशीले भने, “यो हाम्रो सम्पूर्ण टोलीको कठोर परिश्रमको नतिजा हो । यसले नेपालका प्रविधि कम्पनीहरूको अन्तर्राष्ट्रिय क्षेत्रमा बढ्दो भूमिकाको संकेत गर्छ । हामी नेपाल सरकारको डिजिटल रूपान्तरण यात्रामा थप प्रभावकारी परियोजनामा सहकार्य गर्न तत्पर छौं ।”
सन् २००२ मा स्थापना भएको इन्फोडेभलपर्स फिनटेक र आईसीटी समाधान प्रदायक कम्पनी हो । कम्पनीले वित्तीय प्रविधि, सफ्टवेयर विकास र आईटी परामर्श सेवामा विशेषज्ञता राख्दै आएको छ ।
बैंक तथा वित्तीय संस्था, सरकारी निकायहरूका लागि कम्पनीले कोर बैंकिङ प्रणाली, मोबाइल बैंकिङ प्रणाली, एआई-चालित स्वचालन उपकरणहरू जस्ता अत्याधुनिक प्रविधि समाधान ल्याएको छ । यस कम्पनीले हाल २०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।