(Japan) 4 th November | 2024 | Monday | 6:49:59 AM || (Nepal) 3:34:59 AM
 
 


फेसबुक कम्पनी मेटाको एआई तयार, शब्द र फोटोहरुबाटै भिडियो तयार पारिदिने

  POSTED ON : Saturday, 05 October, 2024 | Views : 334

फेसबुक कम्पनी मेटाको एआई तयार, शब्द र फोटोहरुबाटै भिडियो तयार पारिदिने


टोकियो, जापान ।

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटाले शब्दहरु र फोटोहरूबाट भिडियोहरू सिर्जना गर्न सक्ने नयाँ जेनेरेटिभ एआई घोषणा गरेको छ । कम्पनीले शब्दहरु बाटै फोटो तयार गर्न सक्ने, फोटोहरु राखेर भिडियो तयार पार्न सक्ने तथा शब्दहरुबाटै भिडियो समेत तयार हुने शक्तिशाली एआई तयार पारेको बताएको छ ।

मेटाको उद्देश्य ओपनएआई र गुगलसँग प्रतिस्पर्धा गर्नु हो, जसले पहिले नै समान उत्पादनहरू विकास गरिरहेका छन्, र एआईको क्षेत्रमा प्रतिस्पर्धा तीव्र हुँदैछ ।

अक्टोबर ४ मा मेटाले मुभि जेन नामक नयाँ जेनेरेटिभ एआई घोषणा गरेको हो । जसले शब्दहरु र तस्बिरहरू जस्ता इनपुट सामग्रीमा आधारित १६ सेकेन्डसम्मको भिडियोहरू तयार पार्न सक्छ ।

आधिकारिक वेबसाइटमा मेटाको एआईले तयार पारेको धेरै भिडियोहरु प्रस्तुत गरिएको छ ।

वाक्यांश इनपुट गरेर, निर्देशन अनुसार उच्च गुणस्तरको फोटो र भिडियो आफ्नो एआईले तयार पार्ने मेटाले दाबी गरेको छ ।

एआईले तयार पारेको भिडियोहरूमा ध्वनि प्रभावहरू थप्न वा शब्दहरु लेखेर भिडियोमा वस्तुहरू प्रतिस्थापन गर्न पनि मिल्छ ।

मेटाले नयाँ पुस्ताको एआई अझै विकासको चरणमा भएको र दुरुपयोग रोक्न सुरक्षा उपायहरू लागू भएपछि अर्को वर्ष जारी हुने अपेक्षा गरिएको बताएको छ ।