(Japan) 12 th September | 2024 | Thursday | 12:37:03 AM || (Nepal) 9:22:03 PM
 
 


स्टारलिङ्कले सबै फोनमा निःशुल्क स्याटलाइट कल सेवा दिने एलन मस्कको घोषणा

  POSTED ON : Friday, 30 August, 2024 | Views : 730

स्टारलिङ्कले सबै फोनमा निःशुल्क स्याटलाइट कल सेवा दिने एलन मस्कको घोषणा


एजेन्सी । 

स्पेसएक्सका मालिक अर्बपति एलन मस्कले सबै मोबाइल प्रयोगकर्ताका लागि स्टारलिङ्कको निःशुल्क स्याटलाइट कल सेवा दिने घोषणा गरेका छन् । बुधबार एक एक्स (पूर्व टि.भीइत्तेर) पोस्टमा रिप्लाई दिँदै मस्कले मोबाइल फोनहरूका लागि आपतकालीन अवस्थामा सेलुलर स्टारलिङ्क सेवा निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् । 


एक एक्स प्रयोगकर्ताले स्टारलिङ्कले अमेरिकाको फेडरेल कम्युनिकेसन कमिसन (एफसीसी)लाई पठाएको पत्र राख्दै कम्पनीको ‘डाइरेक्ट टु सेल’ प्रविधि बरदान हुने उल्लेख गरेका थिए । स्याटलाइट कनेक्टिभिटी सेवा भएको टी-मोबाइल, आईफोन १४ तथा पछिका मोडेल, ह्वावे मेट ६० प्रो लगायतका फोनमा उपलब्ध छ ।


केही सीमित कम्पनीका  प्रयोगकर्ता बाहेक अन्य मोबाइल प्रयोगकर्ताका लागि यो सेवा उपलब्ध छैन । उनीहरूका लागि सेलुलर टावर नटिप्ने ठाउँमा आपतकालीन अवस्थामा स्याटलाइट कनेक्टिभिटी आवश्यक पर्ने ती प्रयोगकर्ताको आशय थियो । सो पोस्टमा रिप्लाई दिँदै मस्कले स्याटलाइट कल सेवाले धेरै मान्छेलाई सहयोग गर्ने बताए । आफ्नो रिप्लाईमा अर्को रिप्लाई दिँदै मस्कले यो फिचर निःशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।


This could help a lot of people if they are stranded in the wilderness


— Elon Musk (@elonmusk) August 27, 2024


“स्पेसएक्स स्टारलिङ्कले सङ्कटमा परेका मानिसहरूलाई मोबाइल फोनका लागि आपतकालीन सेवा निःशुल्क उपलब्ध गराउनेछ,” उनले लेखेका छन्, “यो विश्वव्यापी रूपमा लागू हुन्छ ।” तर, सम्बन्धित देशको सरकारले स्टारलिङ्कलाई मान्यता दिएको हुनुपर्ने मस्कले उल्लेख गरेका छन् ।


स्पेसएक्सले एफसीसीलाई आफ्नो ‘डाइरेक्ट टु सेल’ स्टारलिङ्क प्रविधिलाई व्यावसायिक रूपमा सञ्चालन गर्न अनुमति दिन अनुरोध गर्दै २३ अगस्टमा पत्र पठाएको थियो । स्टारलिङ्कले पत्र पठाइसकेपछि यसमा एटीएन्ड टी र भेराइजन लगायतका प्रतिस्पर्धी क्यारियरहरूले विरोध गरिरहेका छन् ।


स्पेसएक्सले एफसीसीलाई पठाएको पत्रमा स्टारलिङ्क प्रविधिले सबै उपभोक्ताहरूलाई लाभ पुर्‍याउने वाचा गरिएको छ । यस प्रविधिले मोबाइल सेवा नपुगेको क्षेत्रमा रहेका सबै वायरलेस प्रयोगकर्तालाई आपतकालीन सन्देश पठाउन सहयोग पुर्‍याउने मस्कको भनाइ छ ।


सेलुलर स्टारलिङ्क प्रविधिले पृथ्वीको कक्षमा रहेका स्याटलाइटको प्रयोग गरेर भू-स्तरका प्रयोगकर्ताहरूलाई सेलुलर र इन्टरनेट कनेक्सन पठाउँछ ।


हालसम्म मस्कले यस विषयमा थप विवरण उपलब्ध गराएका छैनन् । तर यो सेवा एप्पलको आपतकालीन एसओएस कनेक्टिभिटी भाया स्याटलाइट फिचरसँग मिल्दोजुल्दो हुने सम्भावना छ । यो फिचर आईफोन १४ र त्यसपछिको फोनमा निःशुल्क उपलब्ध भएको छ ।


एप्पलको हकमा स्याटलाइट सेवाले परम्परागत मोबाइल सेवाहरू नभएका दुर्गम क्षेत्रहरूमा रहेका व्यक्तिहरूको जीवन बचाएको कैयन् समाचार बाहिर आएका छन् ।


स्पेसएक्सले टी-मोबाइलसँग मिलेर सेलुलर स्टारलिङ्क सिस्टम सुरु गर्न एफसीसीबाट स्वीकृति पाउन प्रयास गरिरहेको छ । यसैले मस्कको पोस्टले सम्भवतः अमेरिकी नियामकलाई दबाब दिने उद्देश्य राखेको अनुमान गर्न सकिन्छ ।