टोकियो, जापान ।
जापानका कम्प्युटर इन्जिनियरहरुले विश्वकै तीव्र गतिको इन्टरनेट स्पिडको नयाँ कीर्तिमान बनाएका छन् ।
नेसनल इन्स्टिच्युट अफ इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी (एनआईसीटी)को इन्जिनियर टोलीले प्रतिसेकेन्ड ४० करोड २० लाख एमबीपीएस (४०२ टीबी प्रति सेकेन्ड) इन्टरनेट स्पिडको रेकर्ड कायम गरेका हुन ।
अनुसन्धानकर्ताका अनुसार यो स्पिडमा एक सेकेन्डमै साढे १२ हजार एचडी फिल्म डाउनलोड गर्न सकिन्छ । अनुसन्धानकर्ताका अनुसार हामी जति छिटो आँखा झिम्क्याउन सक्छौं, त्यसको तुलनामा यो स्पिड तीन हजार प्रतिशतले बढी हो ।
गत मार्चमा बेलायतका वैज्ञानिकले प्रतिसेकेन्ड ३०१ टीबी (३० करोड १० लाख एमबीपीएस) इन्टरनेट स्पिडको कीर्तिमान राखेका थिए । त्यसको तुलनामा यो नयाँ रेकर्ड २५ प्रतिशतले छिटो/बढी हो ।
चार महिनाकै अवधिमा यो रेकर्ड कायम गर्न एनआईसीटीका अनुसन्धानकर्ता सफल भएका हुन् । यसका लागि अनुसन्धानकर्ताले अप्टिकल फाइबर प्रयोग गरेका छन् । अप्टिकल फाइबरलाई इन्टरनेटको मेरुदण्ड मानिन्छ । खासगरी यसले मोडुलेटेड इन्फ्रारेड, लाइट र अल्ट्राभायोलेट सिग्नलको सहायताले डिजिटल सूचना पठाउने काम गर्छ ।
एनआईसीटीका अनुसन्धानकर्ताले थुप्रै ट्रान्समिसन ब्यान्ड्स र विशेष किसिमका डिभाइस प्रयोग गरेर ३७.६ टेराहर्जको ब्यान्डविथ सिग्नल प्राप्त गरेका थिए । वाई-फाई सेभेनको तुलनामा यो ब्यान्डविथ सिग्नल एक लाख गुणाले बढी हो ।
व्यक्तिगत प्रयोजनका लागि यो स्पिडको इन्टरनेट घरमा प्रयोग गर्न भने सकिने छैन । यस्तो इन्टरनेट विभिन्न किसिमका खोज तथा अनुसन्धानका काममा प्रयोगमा आउन सक्ने बताइएको छ ।