(Japan) 13 th December | 2024 | Friday | 2:51:14 AM || (Nepal) 11:36:14 PM
 
 


शिक्षामन्त्री सुमनाको पहलमा एसईईमा अनुतिर्ण सबै विद्यार्थीलाई मौका परीक्षाको मौका

  POSTED ON : Saturday, 29 June, 2024 | Views : 930

शिक्षामन्त्री सुमनाको पहलमा एसईईमा अनुतिर्ण सबै विद्यार्थीलाई मौका परीक्षाको मौका


काठमाडौं, नेपाल ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा दुईभन्दा धेरै विषयमा नन ग्रेड 'एनजी' भएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठकोप पहलपछि मन्त्रालयले उक्त मौका नदिए ठूलो संख्यामा विद्यार्थीहरु शिक्षाबाट बञ्चित हुने भन्दै यस्तो निर्णय गरेको हो । 

मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको हो । त्यसका लागि लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्नुपर्ने भएकाले प्रकृया अगाडि बढाउन सरोकारवाला निकायलाई निर्देशन दिइएको शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए ।

यहि निर्देशिकालाई आधार मानेर मौका परिक्षा गराउने हुँदा धेरै विद्यार्थी परिक्षाबाट बञ्चित हुने अवस्था देखिएकाले मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गरेको हो ।

त्यस्तै विद्यार्थीलाई मौका परिक्षाका लागि तयारी गराउन विद्यालय तथा सरोकार निकायलाई निर्देशन समेत दिइएको छ ।

बिहिबार प्रकाशित भएको एसईईको नतिजामा आधा भन्दा धेरै विद्यार्थी अनुतिर्ण भएका थिए । कुल संख्याको ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड अर्थात एनजी ल्याएका थिए । 

परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीमात्र उतिर्ण भएका थिए । 

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको थियो जसमा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २६ दशमलव २५ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको छ ।