(Japan) 17 th February | 2025 | Monday | 10:39:25 AM || (Nepal) 7:24:25 AM
 
 


टोकियोमा अब ड्राईभर बिनै बस गुड्ने, सरकारले दियो चार लेभलको अनुमती

  POSTED ON : Sunday, 23 June, 2024 | Views : 848

टोकियोमा अब ड्राईभर बिनै बस गुड्ने, सरकारले दियो चार लेभलको अनुमती


टोकियो, जापान ।

टोकियोमा तोकिएका निश्चित स्थानमा चालक बिना चलाउन मिल्ने बस सेवालाई सरकारले पहिलो पटक निजि कम्पनीलाई चौथो लेभलको अनुमति दिएको छ ।

टोकियोमा आधारित कम्पनीले लेभल-फोर सेल्फ ड्राइभिङको लागि सार्वजनिक सडकमा जाने अनुमति पाएको हो । निजी कम्पनीले यस स्तरमा यस्तो स्वीकृति प्राप्त गरेको यो पहिलो पटक हो ।

बोल्डली भनिने यो कम्पनी सफ्टबैंक कर्पोरेशनको सहायक कम्पनी हो । यसले टोकियो मेट्रोपोलिटन पब्लिक सेफ्टी कमिसनबाट शुक्रबार स्वीकृति पाएको बताएको छ।


हानेदा एयरपोर्ट नजिकैको ८०० मिटर सडकमा १० जनासम्म यात्रु बोक्न सक्ने बसहरू यस कम्पनीले अब सञ्चालन गर्नेछ । बसहरू १२ किलोमिटर प्रति घण्टाको गतिमा चल्नेछ ।

अहिलेको लागि, सेवा केवल पर्यवेक्षक समूहहरू र पहिलेनै रिजर्भेसन भएका मिडियाकर्मीहरूको लागि उपलब्ध हुनेछ । आम जनताले चढ्न भने केहि समय अझै कुर्नु पर्ने हुन्छ ।

जापानको यातायात मन्त्रालयले सेल्फ ड्राइभिङ प्रविधिलाई पाँच तहमा वर्गीकरण गरेको छ । स्तर चारमा, सवारी साधनहरू निश्चित अवस्थामा चालक बिना तोकिएको स्थानमा निश्चित गतिका साथमा चल्नेछन् । लेभल पाँच भनेको तोकिएको रुटहरूमा सीमितता बिना पूर्ण रुपमा बस सेवा संचालन गर्न पाउने अनुमती हो ।

सरकारले आगामी आर्थिक वर्ष २०२५ सम्ममा करिब ५० स्थानमा पूर्ण स्वायत्त ड्राइभिङ सुरु हुने अपेक्षा गरेको छ ।