(Japan) 13 th December | 2024 | Friday | 2:04:28 AM || (Nepal) 10:49:28 PM
 
 


मालिक फरार भएपछि ग्यालेक्सी टीभी बन्द !

  POSTED ON : Saturday, 23 December, 2023 | Views : 1890

मालिक फरार भएपछि ग्यालेक्सी टीभी बन्द !


काठमाडौं, नेपाल ।

ग्यालेक्सी फोरके टेलिभिजन बन्द भएको छ । करिब तीन वर्षअघि तत्कालीन सञ्चारकर्मी एवं हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अगुवाइमा सुरु भएको यो टीभी यसका मालिकका कारण बन्द भएको हो ।

फोरके प्रविधिमा टेलिभिजन सुरु गर्दा ग्यालेक्सीले विशेष चर्चा पाएको थियो । अधिकांश च्यानल एचडी प्रविधिमा समेत अपग्रेड हुन नसकिरहेको अवस्थामा ग्यालेक्सीले फोरकेमा प्रसारण थालेको थियो । 

त्यस्तै टेलिभिजनमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कार लगायतका कार्यक्रम प्रसारण हुने घोषणा र अधिकाशं कार्यक्रमले सुरुवातमा लोकप्रियता कमाएको थियो । तर राजनीतिक यात्रा सुरुवात गर्नुअघि रवी लामिछानेले टेलिभिजनसँगको सबै सम्वन्ध टुंग्याएर जिम्मा लगाएर निस्किएका थिए ।

तर टेलिभिजन सञ्चालनमा आएको ३४ महिनापछि ग्यालेक्सी फोरके बन्द हुन पुगेको छ । टीभीका मालिक गीतेन्द्र बहादुर राई ९जीबी राई० सहकारी ठगी प्रकरणमा फरार भएपछि टेलिभिजनले नियमित कार्यक्रम प्रसारण गर्न छोडेको छ ।

राईमाथि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १६ अर्ब रुपैयाँ बढी रकम अपचलन गरेको आरोप छ । उक्त सहकारीका पूर्वअध्यक्ष र हालका संरक्षक रहेका राईले आकर्षक ब्याज दिने प्रलोभनमा सर्वसाधारण व्यक्तिहरूलाई सहकारीमा पैसा जम्मा गर्न लगाएर रकम हिनामिना गरेको भन्दै जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । अदालतले भदौ २४ मा पक्राउ पुर्जी जारी गरेपनि राई हालसम्म फरार छन् ।

राई सम्पर्कमा नआएपछि टेलिभिजनले ६ दिनयता नियमित कार्यक्रम प्रसारण बन्द गरेको छ । फेसबुक, युट्यब लगायत टीभीका टीभीका सामाजिक सञ्जाल अकाउन्टमा नयाँ अपडेट छैन । अहिले उक्त टीभीमा गीतमात्रै प्रसारण भइरहेको छ ।