(Japan) 20 th May | 2022 | Friday | 4:35:15 AM || (Nepal) 1:20:15 AM
 
 

जापान १ लाख ४७ हजार विद्यार्थी पर्खाईमा, अप्रिलमा भर्ना हुनेलाई तत्काल खुलाउन दबाव

sajina moktan   POSTED ON : Thursday, 20 January, 2022 | Views : 7682

जापान १ लाख ४७ हजार विद्यार्थी पर्खाईमा, अप्रिलमा भर्ना हुनेलाई तत्काल खुलाउन दबाव


टोकियो, जापान ।

जापान सरकारले आफ्नो कडा सीमा नियन्त्रणमा अपवाद घोषणा गरेपछि सरकारी छात्रवृत्ति पाएका ८७ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई जापान प्रवेश गर्न हरियो बत्ती बालिदिएको छ ।

तर दशौं हजार जो आफ्नै खर्चमा अध्ययन गर्न आउन लागिरहेका छन् उनीहरूलाई कहिले प्रवेश अनुमति दिइन्छ भन्ने कुरा अझैसम्म थाहा छैन ।

सोमबारको घोषणाले जापानमा आफ्नो अध्ययन सुरु गर्न दुई वर्षदेखि पर्खिरहेका करिब १,४७,००० विद्यार्थीहरूका लागि निराशा थपिदिएको छ ।

तिनीहरूमध्ये धेरैले विश्वविद्यालय वा भाषा विद्यालयहरूको लागि शूल्क तिरिरहेका छन् ।

ब्राजिलका बेट्रिज रेगानासी ओकुमुरा भन्छन्, 'हामी निश्चय पनि जापानद्वारा धोका दिएको र त्यागिएको महसुस गर्छौं किनभने तिनीहरूले हामीलाई बिर्सेको जस्तो देखिन्छ। म विश्वास गर्न सक्दिन कि उनीहरूले ८७ जनालाई मात्र प्रवेश गर्न दिइरहेका छन् ।'

२६ वर्षीया युवतीले अक्टोबरमा जापानी भाषा विद्यालयमा भर्ना गरेकी थिइन् तर जापानमा प्रवेश गर्न नसकेका कारण उनी अनलाइन कक्षा लिन बाध्य भइन् ।

जापान र ब्राजिलको बीचमा १२ घन्टा समयको भिन्नतामा, उनको कक्षाहरू बिहान १:०० बजेसम्म चल्छन् । शारीरिक र मानसिक दुवै रूपमा संघर्ष गरिरहेको उनी बताउँछिन् ।

रेगानासी ओकुमुराले दूर शिक्षाको लागि पूर्ण शुल्क तिरिरहेका छिन् । उनी भन्छिन् कि यदि उनी अप्रिलमा सुरु हुने अर्को सेमेस्टरमा जापान जान सकिनन् भने उनले जापान प्रवेश योजना छाड्नेछिन् ।

'मसँग अझै आशा छ किनभने म साँच्चै जापाने जान चाहन्छु । तर अपेक्षाहरू साँच्चै कम छन् । जापानले हामीलाई अझ कम निर्णय लिएर आश्चर्यचकित गरिरहन्छ र म पक्का छैन कहिले खुल्न भन्ने कुरामा ।'


विशेष परिस्थितिहरू

सोमबार जापानका मुख्य क्याबिनेट सचिव मात्सुनो हिरोकाजुले सरकारी छात्रवृत्ति पाएका ८७ जना विद्यार्थीलाई ूजनहित र अवस्थाको जरुरीलाई ध्यानमा राखीू देशमा प्रवेश गर्न अनुमति दिइएको बताए ।

मात्सुनोले भने कि 'विद्यार्थीहरू सबैको पढाइमा एक वर्षभन्दा कम समय बाँकी छ र पाठ्यक्रम आवश्यकताहरू पूरा गर्न भौतिक रुपमा कक्षाकोठामा हुनु आवश्यक छ ।'

विश्वविद्यालयका विद्यार्थी अजान अकबरलाई पनि यो घोषणाले स्तब्ध बनायो । पाकिस्तानका २४ वर्षीय युवक एक वर्षभन्दा बढी समयदेखि भिसाको पर्खाइमा छन् ।

टोकियो इन्टरनेशनल युनिभर्सिटीमा भर्ना हुन पाएकोमा उनी रोमाञ्चित थिए र डिग्री प्राप्त गर्ने र विदेशमा अध्ययन गर्ने आफ्नो परिवारमा पहिलो सदस्य हुने आशा राखेका थिए। तर ती सपना निराशामा परिणत भएको उनी बताउँछन् ।

अकबरले अनलाइन कक्षाहरू लिइरहेका छन्, तर उनले आफ्नो छात्रवृत्ति गुमाएका छन्, किनभने उनले शारीरिक रूपमा जापानमा विद्यार्थी हुनु पर्ने आवश्यकता पूरा गर्न सकेनन् ।

'मैले यस्तो भेदभावको अपेक्षा गरेको थिइनँ' अकबर भन्छन्। 'यसले ममा हिनताको भावना जगाएको छ कि म ृसरकार प्रायोजित विद्यार्थीहरू भन्दो कम महत्त्वपूर्ण छु ।'


शिक्षाविद्हरू चिन्तित

महिनौं वा वर्षौंको पर्खाइ पछि, धेरै विद्यार्थीहरूले जापानमा अध्ययन गर्न छोड्न थालेका छन् । यो विश्वविद्यालय र भाषा विद्यालयहरूको लागि ठूलो चिन्ताको विषय बनिरहेको छ।

सीमा उपायहरूले टोकियो विश्वविद्यालयका १,१०० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई देश प्रवेश गर्नबाट रोकेको छ ।

विश्वविद्यालयका प्रोफेसर र ग्लोबल क्याम्पस इनिसिएटिभ्स डिभिजनका उपमहानिर्देशक यागुची युजिन भन्छन् कि पछिल्लो कदमले आशाको किरण दिन्छ । तर सरकारले अझै धेरै खुकुलो गर्नु पर्ने उनको भनाइ छ ।

'महत्वपूर्ण कुरा यो हो कि हामी यहाँ रोकिने छैनौं, हामी प्रत्येक विद्यालय र विश्वविद्यालयका जापान बाहिर धेरै विद्यार्थीहरू पर्खिरहेका छन् भनेर सम्झनु आवश्यक छ' यागुची भन्छन् '८७ विद्यार्थीहरू प्रवेश गर्न सक्षम हुनुमात्र पर्याप्त छैन । हामीले ती सबै पर्खाईमा रहेकालाई जापान प्रवेश दिनुपर्छ।'


थप अपवादहरूमा प्रवेश खुलाउन माग

सरकारले व्यक्तिगत आधारमा थप छुट दिनेबारे विचार गर्ने जनाएको छ ।

जापानी भाषा स्कूल सञ्चालकहरूको समूहले निजी विद्यार्थीहरू, विशेष गरी अप्रिलमा स्कूल वा विश्वविद्यालयहरूमा भर्ना हुने योजना र प्रवेश परीक्षा दिनु पर्नेहरूका लागि मात्र त्यसो गर्न शिक्षा मन्त्रालयलाई लबिङ गरिरहेको छ ।

जापानी भाषा विद्यालयहरूको प्रतिनिधित्व गर्ने छवटा संघहरूको समूहका अधिकारी मोरिशिता आकिको भन्छिन्, 'विद्यार्थीहरूले उनीहरूको शिक्षालाई आर्थिक जोहो गरे पनि सबैले एउटै समय सीमा प्रतिबन्धको सामना गरिरहेका छन् ।'

'धेरै विद्यार्थीहरूको लागि, मार्चको अन्त्य एक समयसीमा हो' मोरिशिताले अर्को सेमेस्टरको सुरुवातलाई उल्लेख गर्दै भनिन् ।

उनले थपिन्, 'हामी छिटो अघि बढेनौं भने हामीले धेरै विद्यार्थी गुमाउन सक्छौं ।'

...

स्रोत : एनएचके