(Japan) 27 th September | 2022 | Tuesday | 4:44:31 PM || (Nepal) 1:29:31 PM
 
 

जापानमा ‘डेल्टा भ्यारिएन्ट’ नयाँ परीक्षण केमिकलको विकास

  POSTED ON : Thursday, 22 July, 2021 | Views : 2412

जापानमा ‘डेल्टा भ्यारिएन्ट’ नयाँ परीक्षण केमिकलको विकास


टोकियो, जापान ।

जापानको शिमाद्जु नामक कम्पनीले कोरोना भाइरसको अति संक्रामक भ्यारिएन्ट डेल्टाको पहिचान गर्ने पीसीआर परीक्षण रिएजेन्ट बेच्न थालेको छ । कोरोनाको यही भ्यारिएन्टका कारण पछिल्लो समय विश्वभर कोरोना भाइरसको संक्रमण बल्झिन थालेको छ ।

यस्तोमा कम्पनीले सो भ्यारिएन्ट पहिचान गर्ने नयाँ परीक्षण केमिकलको विकास गरेको हो । कम्पनीले मासिक १० हजार परीक्षणका लागि पर्याप्त हुने रिएजेन्ट उत्पादन गर्ने योजना बनाएको छ ।

रिएजेन्ट अनुसन्धानसम्बन्धी प्रयोगका लागि मात्रै हो । र यसलाई बीमाले कभर गर्नेछैन । यसले डेल्टा भ्यारिएन्टमा पाइएको एल४५२आर म्युटेशन पहिचान गर्छ । यो भ्यारिएन्ट पहिलो पटक भारतमा फेला परेको थियो । शिमाद्जुले पहिलो पटक ब्राजिलमा फेला परेको भ्यारिएन्ट गामामा भेटिएको ई४८४के म्युटेशन पहिचान गर्ने रिएजेन्टको अनुसन्धान प्रयोजनका लागि पूर्ण स्तरमा विक्री शुरु गरिसकेको छ ।

कम्पनीले यस अघि नै केही अनुसन्धान संस्थाहरुलाई प्रारम्भिक रुपमा केही रिएजेन्ट आपूर्ति गरिसकेको थियो । अहिले भने यसले सो रिएजेन्टको बृहत स्तरमा उत्पादन शुरु गरेको छ । दुबै रिएजेन्टलाई स्ट्यान्डर्ड पीसीआर परीक्षण किटसँग प्रयोग गर्नु पर्दछ । हरेक सेटको मूल्य ३५ हजार येन (३२० डलर) रहेको छ । एउटा किटबाट करीब सयओटा परीक्षण गर्न सकिन्छ ।

शिमाद्जुले परीक्षण र मापन उपकरणहरुको निर्माण गर्दै आएको छ । यसले मेमा बेलायतमा पहिलो पटक भेटिएको कोरोनाको भ्यारिएन्ट आल्फाको पनि रिएजेन्टको विक्री शुरु गरेको थियो । भविष्यमा देखा पर्न सक्ने भ्यारिएन्टका लागि पनि शिमाद्जुले नयाँ नयाँ रिएजेन्ट सार्वजनिक गर्ने योजना बनाएको छ ।