(Japan) 10 th August | 2022 | Wednesday | 7:28:56 PM || (Nepal) 4:13:56 PM
 
 

सफ्ट बैंकले ल्यायो २९८० येनमा २० जिबि नेट, कम्पनीहरु मूल्य घटाउने होडमा

  POSTED ON : Tuesday, 22 December, 2020 | Views : 5642

सफ्ट बैंकले ल्यायो २९८० येनमा २० जिबि नेट, कम्पनीहरु मूल्य घटाउने होडमा


टोकियो, जापान ।

जापानी टेलिकम कम्पनी सफ्ट बैंक कर्पोरेशनले मासिक २९८० जापानी येनमा २० गीगाबाइट नेट सहितको नयाँ योजना ल्याएको छ ।

सफ्ट बैंकले यसअघि एनटीटी डोकोमो कम्पनीले घोषणा गरेको मूल्यमै समान सुविधा सहितको यस्तो वायरलेस योजना आगामी मार्च महिनाबाटै सुरु गर्ने भएको छ ।

मंगलबार घोषणा गरिएको प्याकेज सफ्ट बैंकको सस्तो प्याकेज हो । सफ्ट बैंक प्रयोगकर्ताले ८४८० येनमा ५० जीबी प्रयोग गर्दै आएकामा अब २० जीबीले पुग्ने ग्राहकको आधाभन्दा कम मात्र खर्च हुनेछ ।

गत अक्टोबर महिनामा प्रधानमन्त्री योशीहिदे सुगाको सरकारले टेलिकम उद्योगमा मोबाइल सेवा दरहरू घटाउन दबाब दिएपछि सफ्ट बैंकले आफ्नो वाई मोबाइल बजेट ब्रान्ड अन्तर्गत कम लागतको योजना सार्वजनिक गरेको थियो ।

तर डिसेम्बर ३ मा डोकोमोले नयाँ आहामो योजना ल्याएको थियो । जसले जापानको मोबाईल सेवा प्रदायक कम्पनीहरुलाई दबाव दिनेगरि मोबाइल डाटाको मूल्यमा भारी कटौती गरिएको थियो ।

सफ्ट बैंकले डोकोमोको नयाँ योजनाबाट आफ्नो व्यापारमा पर्नसक्ने असर कम गर्नकै लागि तीन साता नबित्दै समान मुल्यको उस्तै योजना घोषणा गरेको छ ।

सफ्ट बैंकको नयाँ योजना अन्तर्गत हाल प्रयोग गर्दै आइरहेका ग्राहकको पूर्व बजेट ब्राण्डको तुलनामा ३३ प्रतिशत खर्च कम हुनेछ । जसमा फोर जी र फाईभ जी दुवै नेटवर्कलाई २० जीबी योजना लिने ग्राहकले प्रयोग गर्नसक्नेछन् ।

यो योजना अनुसार एक पटकमा ५ मिनेट फोन कल निशुल्क प्रयोग गर्न सकिने छ ।

जापानको तेस्रो ठूलो मोवाइल सेवा प्रदायक कम्पनी केडिडिआईले उच्च गतिको नेट, निशुल्क फोन सहित एनटीटी डोकोमो र सफ्ट बैंककै हाराहारी मूल्यमा आफ्नो नयाँ प्याकेज नयाँ बर्षको पहिलो साता घोषणा गर्ने योजना बनाएको छ ।

मुल्यमा उच्च कटौती सहित सेवा सुविधा बृद्धिको आफ्नो निर्णय पछ्याउँदै अन्य कम्पनीले नयाँ योजना सार्वजनिक गरेपछि डोकोमोले आफ्नो नयाँ रणनीति सहित मूल्यमा थप कटौती गर्नसक्ने ठानिएको छ ।

जसबाट पुन अन्य कम्पनीहरुलाई आफ्नो नयाँ मूल्यलाई समेत घटाएर प्रतिस्पर्धामा जानुपर्ने दबाव दिनेछ ।

यसबाट आम उपभोक्ताले भने बर्षौंदेखी तिर्दै आएको महंगो शुल्कको मारबाट भने धेरै राहत पाउने भएका छन् ।