टोकियो, जापान ।
विद्यार्थीहरुले दिएको उत्तरनै फेरेर नतिजा निकाल्ने एक शिक्षक विद्यालयबाट निस्कासित भएका छन् ।
जापानमा विद्यार्थीहरुमाथि हुने बूलिङ सम्बन्धी एक सर्वेक्षणमा सहभागीहरुले दिएको उत्तरमा हेरफेर गरेको आरोपमा प्राथमिक विद्यालयका एक शिक्षकलाई बर्खास्त गरिएको छ । आफ्नो कक्षामा विद्यार्थीहरु माथि कम बुलिङ भएको देखाउन सेन्डाई नगरपालिका नानाकिता प्राथमिक विद्यालयका ४८ वर्षिय पुरुष शिक्षकले उत्तरमा हेरफेर गरेका थिए । ती शिक्षकले ३३ मध्ये २२ विद्याथीहरुको प्रश्नावलीमा उत्तर ‘हो’बाट ‘होइन’ बनाएका थिए ।
कक्षा कोठामा कम बूलिङ भएको देखिएमा आफ्नो प्रतिष्ठा सुध्रने सोचेर ती शिक्षकले त्यस्तो गरेका थिए । नगरपालिकाका प्राथमिक विद्यालयहरुमा बूलिङको अवस्था हेर्नका लागि सेन्डाई नगर सरकारले नोभेम्बरमा सर्वेक्षण गरेको थियो । सेन्डाई नगर शिक्षा समितिका अनुसार ती शिक्षकको कक्षामा रहेका २ विद्यार्थीहरुले आफू बूलिङको शिकार भएको बताएका थिए । तर ती शिक्षकले उनीहरु बूलिङमा परेका थिएनन् भन्ने देखाउने उत्तर परिवर्तन गरिदिए ।
आफूले बूलिङमा परेको बताउँदा समेत शिक्षकले उत्तर मेटिदिएको ती दुई विद्यार्थीले बताए । ‘विद्यालयमा बुलिङ हुँदा विद्यालयले यस विरुद्ध उपर्युक्त कदम चाल्छ भन्ने तपाईलाई लाग्छ त रु’ भन्ने प्रश्नको उत्तरलाई पनि ती शिक्षकले ‘खासै लाग्दैन’बाट ‘लाग्छ’ बनाएका थिए । एक जना अभिभावकसँग भएको प्रतिलिपिको तुलनामा सर्वेक्षणको उत्तर फरक आएको देखिएपछि सो घटना प्रकाशमा आएको थियो । ती शिक्षक अस्थायी थिए ।
आफूले शैक्षिक सत्र २०१६, २०१८ र २०१९ मा विभिन्न प्राथमिक विद्यालयहरुमा बुलिङ सम्बन्धी सर्वेक्षणहरुमा यस्तै खालको हेरफेर गरेको ती शिक्षकले स्वीकारेका छन् । आफूले कम्तिमा पनि ६६ जना विद्यार्थीको सर्वेक्षणको नतिजा हेरफेर गरेको उनको स्वीकारोक्ति छ । सेन्डाई नगर शिक्षा समितिले ती शिक्षकमाथि फौजदारी मुद्दा हाल्नेबारे विचार गरिरहेको छ ।