टोकियो, जापान ।
अध्ययन, आशिंक काम सँगै अब पढाई सकिएका बिदेशी विद्यार्थीहरु जापानमा थप मारमा पर्ने देखिएको छ ।
कोरोना भाइरसको महमारी बीच जापानमा जब अफर रद्द गर्ने क्रम बढेर ९ वर्ष यताकै उच्च बिन्दुमा उक्लिएको छ । यसको अर्थ अध्ययनपछि रोजगारी खोज्नेहरुको समस्या र संघर्ष जापानमा थप कठिन हुँदै गएको देखिएको छ ।
कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्र मन्दिमा भएसँगै नौ वर्षमा पहिलो पटक जापानमा २०० भन्दा धेरै ग्र्याजुएटहरुको रोजगारीको अफर रद्द भएको श्रम मन्त्रालयले मंगलबार बताएको हो ।
सेप्टेम्बरको अन्त्यसम्ममा २०१ जनाको जब अफर रद्द भएको छ । यी मध्ये अधिकांश विश्वविद्यालयको पढाई पूरा गर्ने जापानी र बिदेशी विद्यार्थी छन् ।
गत वर्षको सोही अवधिमा भने ३५ विद्यार्थीको मात्रै जब अफर रद्द भएको थियो ।
सन् २०११ को मार्चमा पूर्वी जापानमा गएको विनाशकारी भुकम्पपछि २ सय भन्दा धेरै विद्यार्थीको जब अफर रद्द भएको थियो । त्यति बेला ५९८ नयाँ ग्र्याजुएटको रोजगारीको करार खारेज गरिएको थियो ।