(Japan) 31 st January | 2023 | Tuesday | 7:29:07 PM || (Nepal) 4:14:07 PM
 
 

ढिलासुस्ती हटाउन ‘हान्को’ व्यवस्था हटाउँदै जापान सरकार !

  POSTED ON : Sunday, 04 October, 2020 | Views : 1890

ढिलासुस्ती हटाउन ‘हान्को’ व्यवस्था हटाउँदै जापान सरकार !


टोकियो, जापान ।

जापानका प्रशासनिक सुधार राज्य मन्त्रीले सयौं खालका कागजपत्र बुझाउँदा आधिकारिक छाप लगाउनु पर्ने व्यवस्था हटाउन लागेका छन् ।

कर्मचारीतन्त्रमा रहेको ढिलासुस्ती हटाउन मन्त्री तारो कोनोले यस्तो गर्न लागेका हुन् । जापानको अधिकांश प्रशासनिक प्रक्रियामा ‘हान्को’ छाप चाहिने व्यवस्था हटाइने घोषणा अक्टोबर २ मा कोनोले गरेका हुन् ।

प्रशासनीक सुधार मन्त्रालयले सबै सरकारी निकाय माझ हालै एक सर्वेक्षण गरेको थियो । यसमा सहभागी निकायहरुलाई हान्को चाहिने व्यवस्था खारेज गर्ने कि नगर्ने भनेर सोधिएको थियो ।

निजी व्यवसाय र संगठनहरुले सरकारी निकाय समक्ष कागजात पेश गर्दा आधिकारिक छाप लगाउन पर्ने ८२० प्रक्रिया मध्ये ९६ प्रतिशत अर्थात् ७८५ ओटामा सो व्यवस्था हटाइने कोनोको भनाइ छ ।

‪जापानको आधिकारिक छाप (हान्को) संस्कृति भाइरस संक्रमणको जोखिम सावित हुन सक्छ‬

जापानमा आधिकारिक रुपमा कागजपत्रमा हस्ताक्षर गर्दा हस्ताक्षरको साथमाहान्को छापको पनि व्यापक प्रयोग गरिन्छ । धेरैजसो स्थितिमा यो कानूनी आवश्यकता हो । तर यसको सांस्कृतिक परम्परा सयौं वर्ष पुरानो छ । हान्को डिजिटल प्रक्रिया र टेलिवर्कमा अवरोधका रुपमा रहेको छ । सरकारले सर्वेक्षणको उत्तर सेप्टेम्बरको अन्त्यमा संलकन गरेर यसको विशलेषण गरेको थियो ।

बताइएको ७८५ प्रक्रियामा भने अधिकारीहरुले हान्कोको प्रयोग खारेज गर्ने वा यस्तो गर्ने धारणा रहेको बताएका थिए । बाँकी रहेको ३५ प्रक्रियामा भने कानूनी रुपमा नै तोकिएकोले हान्कोको आवश्यकता यथावत् राख्ने धारणा उनीहरुको थियो । यी मध्ये केही प्रक्रियामा हान्को अनुमति पनि नचाहिने कोनोको भनाई छ ।

केही प्रक्रियामा हान्को छाप कानूनमा नै उल्लेख गरिएको भएपनि कानूनमा परिवर्तन गर्न सकिने कोनोको भनाई छ । यो विधेयक संसदमा कहिले पेश हुन्छ भन्नेबारे भने उनले समय खुलाएका छैनन् ।