ओसाका, जापान ।
बिदेशी नाम राखेर कलेजहरु सञ्चालन गरेको बिरोधमा बन्द हडताल देखी तोडफोडका घटना केही वर्षअघि नेपालमा सामान्य थियो । अहिले यो विषय त्यति चर्चामा छैन ।
तर जापानमा पनि यस्तै घटना भएको छ । ओसाका प्रिफेक्चरमा दुईवटा विश्वविद्यालयहरु गाभेर अँग्रेजी नाम राख्न लागेपछि त्यसको आलोचना भईरहेको छ ।
आलोचना बढेर विश्वविद्यालयहरुमा बम विस्फोट गराउने धम्की आएको विश्वविद्यालयका अधिकारीहरुले बताएका छन् ।
जापानी समाचार संस्थाहरुका अनुसार ओसाका प्रिफेक्चरमा रहेको ओसाका प्रिफेक्चर विश्वविद्यालय र ओसाका शहर विश्वविद्यालय एकआपसमा गाभिने चरणमा रहेका छन् ।
सोमबार ईमेल मार्फत बम विस्फोटको धम्की आएको विश्वविद्यालयहरुले जानकारी गराएको साकाई शहरका अधिकारीहरुले बताएका छन् ।
ईमेलमा विश्वविद्यालयको नाम अँग्रेजीमा राख्ने योजनाको बिरोध जनाईएको छ ।
दुवै विश्वविद्यालय सञ्चालन गर्दै आएको विश्वविद्यालय सार्वजनिक संस्था ओसाकाका अनुसार बुधवार विश्वविद्यालयमा डेटोनेट बम विस्फोटको धम्की दिईएको छ ।
जसमा सरिन ग्यास विस्फोट गराउने चेतावनी दिएका छन् ।
गत शुक्रबार विश्वविद्यालय सञ्चालकहरुले सन् २०२२ बाट विश्वविद्यालय मर्ज गर्ने र नयाँ नाम युनिभर्सिटी अफ ओसाका राख्ने निर्णय गरेका थिए ।
नयाँ नाम बारेमा ओसाका प्रिफेक्चरले समेत अनभिज्ञता प्रकट गरेको छ ।
नयाँ भनिएको नाम आफुहरुले पहिलेदेखी नै सञ्चालन गरिरहेको ओसाका युनिभर्सिटीसँग मिल्दोजुल्दो भएको र नाम परिवर्तन गर्न अनुरोध समेत गरिएको ओसाका युनिभर्सिटीका प्रमुख शिजिरो निशिओले बताएका छन् ।
तर ओसाका प्रिफेक्चरका गर्भनर हिरोफुमी योशिमुरा र ओशाका शहरले भने विश्वविद्यालयको नयाँ नाम दुविधा गर्ने नरहेको र नाम परिवर्तन नहुने बताएका छन् ।
विश्वविद्यालय नामको विवाद बढ्दै जाँदा ओसाका प्रिफेक्चर सरकारका एक वरिष्ठ अधिकारीले नयाँ नाम ओसाका महानगर विश्वविद्यालय हुनसक्ने बताएको क्योदो समाचार संस्थाले खवर प्रकाशित गरेको छ ।