टोकियो, जापान ।
जापानी प्राविधिकहरुले ईन्टरनेट जडान गरिएको अनुहारमा लगाउने मास्क सार्वजनिक गरेका छन् ।
भर्खरै सुरुवात गरेको एक जापानी कम्पनीले कोरोना भाइरस महामारी तत्काल सामान्य बन्ने नदेखिरहँदा मास्क लगाएकै अवस्थामा बोलेको आवाजलाई जापानी सहित आठ वटा भाषामा अनुवाद गर्नसक्ने प्रविधि यस्तो मास्कमा उपलब्ध गराएको छ ।
'सि-मास्क' नाम दिईएको मास्कमा रहेको 'डिभाईस' 'ब्लुटुथ' मार्फत 'स्मार्ट फोन' वा 'ट्याब्लोईड'मा जोड्न सकिनेछ ।
जसले बोलेका कुरालाई जापानी सहित अँग्रेजी, चिनियाँ, स्पेनिस, भियतनाम, फ्रेन्च, ईण्डोनेसियन, थाई गरि आठ वटा भाषामा भाषानुवाद गर्नेछ ।
मास्क लगाएरनै फोनमा कुराकानी गर्न सकिनेछ भने बोलेका कुरालाई स्किृप्टमा लेखेर उतार्न समेत सम्भव रहेको मास्क निर्माता कम्पनी डोनट रोबोटिक्सका कार्यकारी प्रमुख ताईसुके ओनोले बताएका छन् ।
आफुहरुले वर्षौंसम्म रोबोटको विकास गर्न कडा मेहनत गरेको बताउँदै ओनोले रोबोटको लागि विकास गरिएको टेक्नोलोजी प्रयोग गरेर कोरोना भाइरस महामारीको समयमा समाजलाई सहयोगी हुने मास्क निर्माण गर्न सम्भाव भएको बताएका छन् ।
डोनट रोबोटिक्सका ईन्जिनियरहरूले कोरोना महामारीबाट कर्मचारीहरुलाई जोगाउन विशेषगरि कम्पनीहरुलाई ठूलो मद्दत पुग्ने विश्वास सहित मास्क निर्माण गरेको बताएका छन् ।
'सि-मास्क'को पहिलो ५ हजार पिस जापानभित्रै आपुर्ति गरिने र सप्टेम्बरबाट सुरु हुने बताईएको छ ।
अमेरिका, चिन सहित युरोपियन देशहरुमा विक्रिका लागि कम्पनीले योजना बनाईरहेको डोनट रोबोटिक्स कम्पनीले बताएको छ ।
केही महिना अघिसम्म सम्भव नदेखिएको यस्तो फेस मास्कको बजार ठूलो रहेको र आफुहरुले पहिलो यस्तो मास्क निर्माण गर्न सम्भव भएको कम्पनीले बताएको छ ।
यस्तो स्मार्ट मास्कको मुल्य प्रतिगोटा ४० डलर पर्ने बताईएको छ ।