टोकियो, जापान ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले नयाँ कोरोनाभाइरस संक्रमित व्यक्ति नजिक हुँदा सूचना दिने मोबाईल एप सार्वजनिक गरेको छ ।
शुक्रबार मन्त्रालयका अधिकारीहरुले पत्रकार सम्मेलन आयोजना गरेर एप सार्वजनिक गरेका हुन् ।
जस अनुसार एपको नाम 'COCOA' अर्थात् कोकोए राखिएको छ ।
आईफोन मोबाईल प्रयोगकर्ताहरुले एप स्टोर र अन्य स्मार्टफोन प्रयोगकर्ताहरुले प्ले स्टोरबाट यो एप आफ्नो मोबाईलमा सजिलै डाउनलोड गर्न सक्नेछन् ।
मोबाईलमा यो एप डाउनलोड गरेपछि कोरोना संक्रमित व्यक्ति आफु नजिक १ मिटरको दुरीमा १५ मिनेटसम्म रहेमा नोटिफिकेसन म्यासेज मार्फत सूचना दिनेछ ।
यसको लागि व्यक्तिले एपमा आफ्नो विवरण दर्ता गरेको हुनुपर्नेछ । यसरी संक्रमित व्यक्तिको सूचना मोबाईल एपमा राखेको खण्डमा कोरोना संक्रमण व्यापक रुपमा फैलनबाट धेरैहदसम्म रोक्न सकिने विश्वास सरकारी अधिकारीहरुले गरेका छन् ।
सिंगापुरमा यसअघिनै प्रयोगमा रहेको यस्तै खाले मोबाईल एप प्रभावकारी देखिएको र संक्रमण नियन्त्रणमा सहयोगी सिद्ध भएको एप सार्वजनिक अवसरमा मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
एप मोबाईलमा निशुल्क डाउनलोड गर्न सकिनुका साथै एप डाउनलोड गर्दैमा व्यक्तिगत जानकारी चुहावट नहुने सरकारले विश्वस्त तुल्याएको छ । यस बाहेक एपकै माध्यमले व्यक्तिगत सूचना सरकारले दूरुपयोग गर्नसक्ने भन्ने आशंका नरहेको मन्त्री काचुनोबु कातोले बताएका छन् ।
सरकारले धेरै भन्दा धेरै व्यक्तिलाइ यो मोबाईल एप आफ्नो मोबाइलमा डाउनलोड गर्न र आफ्नो विवरण भर्न समेत अनुरोध गरेको छ ।