(Japan) 20 th May | 2022 | Friday | 4:17:24 AM || (Nepal) 1:02:24 AM
 
 

जापानी आकासमा रहस्यमय सेतो बस्तु उडेपछि खैलाबैला, के यहि हो 'UFO' ? (भिडियो सहित)

  POSTED ON : Wednesday, 17 June, 2020 | Views : 13750

जापानी आकासमा रहस्यमय सेतो बस्तु उडेपछि खैलाबैला, के यहि हो 'UFO' ? (भिडियो सहित)


टोकियो, जापान ।

उत्तरी जापानको सेन्दाईमा बुधवार बिहान आकाशमा रहस्यमय विचित्रको सेतो बेलुन वा चन्द्रमा जस्तो गोलाकारको वस्तु उडेको छ ।

बिहानपख शहरको एकदम कम उचाईमा बेलुन जस्तो सेतो बस्तु तिब्रगतिमा उडेको देखेपछि शहरवासीहरु चकित बनेका थिए ।

'यो कुन वस्तु उडेको हो भन्ने कुरा हामीलाई थाहा छैन, हामी यसको पत्ता लगाउने प्रयासमा छौं' मौसम विज्ञान एजेन्सीका अधिकारीहरुले भने 'हामीले सेन्दाई नगरपालिका र सेल्फ डिफेन्स फोर्ससँग जाँचको लागि सोधपुछ गर्दा उनिहरुले पनि थाहा नभएको बताएका छन् ।'

मौसम एजेन्सीका अधिकारीहरुका अनुसार बिहान ७ बजेको समयमा उक्त 'सेतो वस्तु केहो ?' भन्दै मौसम एजेन्सी तथा नगरपालिका एवं प्रहरी र सेल्फ डिफेन्स फोर्सको कार्यालयहरुमा कयौं फोन आएको थियो ।

माथिल्लो भागमा गोलाकार बेलुन जस्तो र तल्लो भागमा केही झुण्डिरहेको वा पिलरजस्तो भाग देखिने सेतो बस्तु सेन्दाईको आकासमा लामो समयसम्म उडेको जमिनबाटै प्रत्यक्ष देखिएको थियो ।

एजेन्सी अधिकारीले यो कस्तो वस्तु भन्ने यकिन नभएपनि अवलोकन गर्न उडेको जस्तो वस्तु देखिएको बताएका छन् ।

सेन्दाई स्थित बिमानस्थल कार्यालयले बिमानस्थल नजिकको भागमा उडानको लागि कतैबाट पनि अनुमति नमागिएको तथा उक्त वस्तु के हो भन्ने जानकारी हुन नसकेको बताएको छ ।

बिमानस्थल कार्यालयका अधिकारीहरुले भने 'यो हवाई जहाँज उडान गर्ने क्षेत्र होईन, तरपनि अन्य कुनैपनि उडान अनुमतिको लागि अनुरोध नआएकाले हामीले यो वस्तुको निरन्तर अनुगमन गरिरहेका छौं ।'

कयौं ट्विटर प्रयोगकर्ताहरुले तातो एयर बेलुन जस्तो भएको भन्दै कयौं तस्विर तथा भिडियो पोष्ट गरेका छन् ।

सेतो वस्तु उडेको विषयमा प्रहरी, स्थानिय सरकार सहित सेल्फ डिफन्स फोर्सले समेत पुष्टि गरेको एनएचके समाचार संस्थाले खवर प्रकाशित गरेको छ ।

मानव वस्ति क्षेत्रको ठूलो भागमा उडेको उक्त सेतो वस्तु बिहान ५ बजेतिरबाटै देखिएको बताईन्छ ।

प्रहरीले हेलिकोप्टरबाट निरिक्षण गर्दा जमिनको सतहदेखी केवल १५ सय मिटरको उचाईसम्म उक्त सेतो वस्तु उडेको पाईएको बताएको छ । 

प्रहरीले हेलिकोप्टरबाट निरिक्षण गर्दँ सेतो भागले घेरिएको तथा तल्लो भागमा दुईवटा पिलर जस्तो झुण्डिएको देखिएको बताएको छ ।


यस बारेमा प्रहरीले भूमि, पुर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयमा जानकारी गराईसकेको जनाएको छ ।

उक्त सेतो वस्तु उडेर आकासमै बिलाएको भएपनि कहाँबाट आएको र कता गयो भन्ने जानकारी स्थानिय निकाय वा प्रहरीहरुले आफुहरुसँग नरहेको बताएका छन् ।

हाल उक्त वस्तु उडेको भाग आसपास कुनै वस्तु खसे नखसेको पुष्टि गर्न निरिक्षण गरिरहेको बताईएको छ ।

गत महिना मात्र अमेरिकी सरकारले कयौं पटक आफ्नो सेनाले हालसम्म खुल्न नसकेका अर्को ग्रहबाट छाडिएको ठानिएका 'युएफओ' जस्ता रहस्यमय उडानहरु कैद गरेको बताएका थिए ।

जापानी सञ्चार माध्यमहरुले सोही विषयलाई जोड्दै उडेको देखिएको तर के भन्ने घण्टौंसम्म पनि थाहा हुन नसक्नु रहस्यमय भएको बताउँदै यसलाई युएफओ भएको आशंका गर्दै खवर प्रकाशित गरिरहेका छन् ।