टोकियो, जापान ।
जापानको स्वास्थ्य मन्त्रालयले आगामी हप्ताबाट कोरोना भाइरस संक्रमित व्यक्तिबारेको जानकारी दिने एक मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउने भएको छ ।
मन्त्रालयले शुक्रबार यसबारेको रुपरेखा तयार पारिसकिएको बताएको छ ।
यस्तो मोबाईल सफ्टवेयरले व्यक्तिको मोबाईल स्मार्टफोनको माध्यमबाट तथ्यांकहरु एकतृत गरेर एक व्यक्तिबाट अर्को व्यक्तिको दुरी काम गर्न सघाउने बताईएको छ ।
मोबाईल एप्लिकेशनको माध्यमबाट संक्रमित व्यक्ति आफु नजिक भएको जानकारी एपले मोबाईलमा उपलब्ध गराउनेछ ।
यसको लागि मन्त्रालयले कोरोना संक्रमित व्यक्तिहरुलाई आफ्नो विवरण मोबाईल डाटा अर्थात् उक्त एपमा राख्नको लागि प्रोत्साहन गर्दै आएको छ ।
यस पश्चात आगामी दुई हप्तासम्म संक्रमित व्यक्तिको एक मीटर दुरीमा १५ मिनेटसम्म सम्पर्कमा पुगेका व्यक्तिहरुलाई उनिहरुको मोबाईल मार्फत जानकारी उपलब्ध गराउनेछ ।
जानकारी अनुसार नजिकमा आएका अन्य मोबाईल प्रयोगकर्ताहरुमा ज्वरो, खोकी तथा कोरोना संक्रमणजन्य लक्षण देखिएमा सूचना उपलब्ध भएलगत्तै उनिहरु रहने नजिकको अस्पतालमा जानकारी गराईनेछ ।
मन्त्रालयका अधिकारीहरुले नागरिकलाई विश्वस्त बनाउँदै मोबाईल ऐप प्रयोगकर्ताको व्यक्तिगत सूचना तथा मोबाईलमा भएका कुनैपनी तथ्यांक प्राप्त नहुने भन्दै गोप्यता कायम रहने बताएको छ ।
यसका साथै यो एप प्रयोगकर्ताहरुमा उनिहरुलाई कुन समय संक्रमित व्यक्तिको नजिक पुगेको र उक्त व्यक्ति को हो भन्नेबारे जानकारी गराईनेछैन । अर्थात् संक्रमित व्यक्तिको गोपनियता कायम राखिनेछ ।