टोकियो, जापान ।
जापान सरकारले कोरोना संक्रमणका कारण आर्थिक कठिनाईमा परेका विद्यार्थीहरुका लागि २ लाख येनसम्म राहत दिने तयारी गरेको छ ।
सरकारले आर्थिक सहायत स्वरुप पार्ट टाईम जब गुमाएका विद्यार्थीहरुलाई १,००,०००/- येन र कर छुट लिंदै आएका आर्थिक अवस्था कमजोर रहेका परिवारका विद्यार्थीहरुलाई २,००,०००/- येन राहत दिने तयारी गरेको हो ।
एनएचके समाचार संस्थाका अनुसार सत्ताधारी एलडीपीका राजनीतिक सर्वेक्षण प्रमुख किसिदा र संवैधानिक प्रजातान्त्रिक पार्टीका प्रमुख आईसाकाबिच मे १४ अपरान्ह भएको छलफलबाट यस्तो योजना तयार पारिएको छ ।
योजना अनुसार कोरोना भाइरस संक्रमणको असर स्वरुप पार्ट टाईम काम गुमाएका वा बिदामा बस्न परेका विद्यार्थीहरुले १० मान येन राहत पाउनेछन् ।
यसैगरि आर्थिक अवस्था कमजोर रहेका परिवार जसले कर छुट लिंदै आएका थिए त्यस्ता परिवारका विद्यार्थीहरुले २० मान राहत पाउनेछन् ।
यस्तो राहत सहयोगबाट विश्वविद्यालय, व्यावसायिक विद्यालयहरू, जापानी भाषा स्कूल आदिमा अध्ययनरत ४ लाख विद्यार्थीहरु लाभान्वित हुने ठानिएको छ ।
यस्तो सहायता रकम जापान विद्यार्थी सेवा संगठन जापान स्टुडेण्ट सर्भिस अर्गनाईजेसन ले विद्यार्थीहरुको अवस्था चेकजाँच गरेर वितरण गर्ने बताईएको छ ।
विद्यार्थीहरुका लागि लक्षित राहत घोषणा दोस्रो पूरक बजेट योजना अघि सरकारले रिजर्भ कोषबाट विनियोजन गर्ने तयारी गरेको छ ।
गतसाता कोमेईतो पार्टीले सरकारका शिक्षामन्त्रि समक्ष प्रस्ताव गरेपछि अघि बढेको विद्यार्थी राहतको विषयमा सत्ताधारी र विपक्षी दलहरु सहमत नजिक पुगेका छन् ।
मन्त्रिपरिषदले निर्णय गरेपछि औपचारिक रुपमा विद्यार्थीहरुलाई राहत वितरणको प्रक्रिया अघि बढ्ने छ ।
कोरोना संक्रमणका बिच आपतकाल घोषणापछि अधिकाशं सेवा क्षेत्रमा पार्ट टाईम काम गर्दै आएका विद्यार्थीहरु आर्थिक मारमा परेका छन् ।
जापानमा अध्ययनरत २५ हजार बढी नेपाली विद्यार्थीहरु आर्थिक चपेटामा परेको एक अध्ययन रिपोर्टले समेत देखाएको छ ।
यदि अहिले प्रस्ताव गरेर अघि बढेको विषय पारित भएमा जापानमा अध्ययरत नेपाली विद्यार्थीहरुसमेत प्रत्यक्ष लाभान्वित हुने देखिएको छ ।
यो योजना अन्र्तगत छात्रवृत्ति तथा पारिवारिक आर्थिक अवस्था बलियो देखाएका विद्यार्थीहरु २० मान येन राहतमा समावेशन हुने सम्भावना कम रहेको छ ।
तर पारिवारिक रुपमा आर्थिक अवस्था कमजोर रहेको एवं पार्ट टाईम काम आरुवाईतो गर्दै आएका विद्यार्थीहरु २० मान येन पाउन योग्य हुने ठानिएको छ ।