(Japan) 3 rd July | 2022 | Sunday | 5:45:36 AM || (Nepal) 2:30:36 AM
 
 

जापानमा रहेका ९३ प्रतिशत नेपाली बिद्यार्थी आर्थिक समस्यामा, २२ प्रतिशत देश फर्कन ईच्छुक

  POSTED ON : Sunday, 03 May, 2020 | Views : 6386

जापानमा रहेका ९३ प्रतिशत नेपाली बिद्यार्थी आर्थिक समस्यामा, २२ प्रतिशत देश फर्कन ईच्छुक


टोकियो ।

जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुमाझ गरिएको एक सर्वेक्षण अनुसार ९३ प्रतिशत विद्यार्थीहरुको आर्थिक अवस्थामा समस्या उत्पन्न भएको देखिएको छ । कुल ६ सय ५७ जना विद्यार्थीहरुवीच गरिएको अनलाइन सर्वेक्षणमा सो नतिजा पाइएको हो ।

बहुसंख्यक नेपाली बिधार्थीहरुहरुले पार्ट टाइम काम गरेर बिधालयको शुल्क तिर्ने र जीवनयापनमा लाग्ने खर्च जुटाउने गरेकोमा विश्वभर फैलिएको कोरोना भाइरस र जापानमा जारी गरिएको आपतकाल पश्चात बिधार्थीहरुको काम वा पढाइमा के कस्ता असरहरु देखिएका छन भन्ने हेतुले यो सर्वेक्षण गरिएको हो ।

जापानमा रहेका जापानी भाषा स्कुल, कलेज वा विश्वविद्यालयमा गरी कुल २६ हजार ३ सय ८ जना नेपाली बिधार्थीहरु रहेको जास्सो (जापान बिधार्थी सहयोग नियोग) को तथ्यांक छ । यो जापानमा रहेका बिदेशी बिधार्थीहरुमा चीन, भियतनाम पछि तेस्रो ठूलो संख्यामा हो।

सर्वेक्षणमा कुल सहभागीहरु मध्ये ७७ दशमलब ९ प्रतिशत पुरुष र २१ दशमलब ९ प्रतिशत महिला रहेका छन् ।

त्यस्तै २४ दशमलब ९ प्रतिशत सहभागीहरु टोकियोबाट, ११ दशमलब ७ प्रतिशत फुकुओकाबाट, कानागावा ७ दशमलब २ प्रतिशत र ओसाकाबाट ५ दशमलब ८ प्रतिशत तथा त्यसबाहेकका प्रिफेक्चरबाट ५० दशमलब ५ प्रतिशत विद्यार्थीहरु रहेका छन्।

त्यसै गरी सहभागीहरुमध्ये ६५ दशमलब ६ प्रतिशत बिधार्थीहरु जापान आएको ३ बर्ष भन्दा कम छन भने बाँकी बिधार्थीहरु ३ बर्ष भन्दा बढि जापानमा बसिसकेको यस अनुशन्धानले देखाएको छ। जसमध्ये ५१ दशमलब ६ प्रतिशत भोकेशनल कलेजमा, २५ दशमलब ७ प्रतिशत बिद्यार्थी विश्वबिधालयमा र ११ दशमलब ३ प्रतिशत जापानी भाषा स्कुलमा अध्यनरत छन भने ११ दशमलब ४ प्रतिशत अन्य शैक्षिक संस्थामा रहेका छन्।

कोरोना संक्रमणले पार्ट टाइम काममा कत्तिको असर पारेको छ भनि सोधिएको प्रश्नमा ४४ दशमलब ७ प्रतिशतलाई काम गर्ने अवधी घटाएर काम दिइएको, ३४ दशमलब १ प्रतिशतलाइ काम नभएर लामो बिदामा बस्न बाध्य गराइएको र ७ दशमलब ८ प्रतिशतलाई कामबाट निकालिएको पाइयो।

कोरोनाको त्रास बारेको प्रश्नमा ४१ दशमलव ४ प्रतिशतले आफ्नो काम सेवा प्रदान गर्ने र ग्राहकसंग भेट हुने हुनाले संक्रमणको त्रास रहने बताएका छन भने ३६ दशमलब ५ प्रतिशतले काममा आँउदा जाँदा प्रयोग गरिने सार्वजानिक यातायातमा संक्रमित हुने त्रास रहिरहने बताएका छन्। बिशेषत बिधार्थीहरु कोठा लिँदा साथीसंग मिलेर लिने हुनाले सानो रुममा धेरैजना बस्ने हुनाले पनि रोग सर्ने सम्भावना बढ्ने तर्फ चिन्ता गर्नेहरु १० दशमलब ४ प्रतिशत रहेका छन्। ११ दशमलब ७ प्रतिशतले भने कुनै त्रास नरहेको बताएका छन्।

आर्थिक हिसावले के कस्तो समस्या रहेको छ? भन्ने प्रश्नमा २३ दशमलब ९ प्रतिशत दैनिक जीवनयापन गर्ने खर्चमा अभाव हुन थालेको बताएका छन् भने २३ दशमलब ४ प्रतिशतले शिक्षण संस्थाको फिस तिर्न समस्या रहेको बताएका छन्। त्यसैगरी माथी उल्लेखित दुवै फिस तिर्न पनि जीवन निर्वाह गर्न पनि समस्या छ भन्नेहरु ४५ दशमलब ८ प्रतिशत छन्। सरसर्ति जोडेर हेर्दा ९३ दशमलब १ प्रतिशत बिधार्थीहरु आर्थिक समस्यामा परेको देखिन्छ।

कोरोनाको समस्याले गर्दा आफ्नो देश फर्कन चाहनुहुन्छ ? भन्ने प्रश्नमा २२ दशमलब ४ प्रतिशतले फर्कन चाहेको, ३७ दशमलब १ प्रतिशतले नचाहेको र ४० दशमलब ५ प्रतिशत ले के गर्ने के अन्यौलमा परेको बताएका छन्।

विश्वभरनै महामारीको रुपमा फैलिएको यस कोरोना भाइरसको कारण अहिले आफुले भोग्नु परेको आर्थिक बाहेक मुख्य समस्या चाँहि के हो ? भन्ने प्रश्नमा ५० दशमलब ४ प्रतिशतले अध्यन पछिको भविष्यको चिन्ता लागेको बताएका छन्। २२ दशमलब १ प्रतिशतले लामो बिदा भएकोले अध्यन पुरा हुने नहुनेमा चिन्ता प्रकट गरेका छन् भने २१ दशमलब ९ प्रतिशतले भिसाबारे चिन्ता व्यक्त गरेका छन्। यसरी कुल ९३ दशमलब ४ प्रतिशत बिधार्थीहरु कोरोनाको कारण चिन्तामा रहेको देखिन्छ ।

जापानमा आफुलाई चाहिने सूचना कहाँबाट लिनुहुन्छ भन्ने प्रश्नमा ३३ दशमलब ८ प्रतिशतले नेपाली इन जापानबाट २९ दशमलब २ प्रतिशतले सामाजिक संजाल वा अन्य पेज तथा ग्रुपबाट, १८ दशमलब १ प्रतिशतले जापानबाट संचालित नेपाली मिडियाहरुबाट सूचना तथा जानकारी हरु लिने गरेको देखिन्छ ।

त्यसबाहेक जापानी संचार माध्यम वा सरकारी वेबसाइटहरु, साथीभाइ वा आफन्त र अन्य श्रोतबाट समाचार लिनेहरुको संख्याभने न्युन रहेको देखिन्छ।

कोरोना भाइररका कारण आफुमा परेको समस्याबारे थप जानकारी सोधिएकोमा धेरै जनाले भविश्यको चिन्ता तथा जापानमा जीबनयापन कसरी गर्ने चिन्ता रहेको बताएका छन् ।

सर्वेक्षण नेपाली इन जापान फेसबुक पेजको सहयोगमा जिज्ञान कुमार थापाले गर्नुभएको थियो ।


सर्वेक्षण रिपोर्ट डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।