(Japan) 3 rd July | 2022 | Sunday | 5:35:53 AM || (Nepal) 2:20:53 AM
 
 

जापानमा शैक्षिक सत्र सेप्टेम्बरबाट सुरुगर्ने तयारी, अध्ययन र रोजगारी असरको लेखाजोखा

  POSTED ON : Friday, 01 May, 2020 | Views : 4018

जापानमा शैक्षिक सत्र सेप्टेम्बरबाट सुरुगर्ने तयारी, अध्ययन र रोजगारी असरको लेखाजोखा


सिमा खड्का-टोकियो, जापान ।

जापानमा हरेक बर्षको शैक्षिक सत्र अप्रिल महिनाबाट सुरु हुने गर्दछ ।

यहि महिना देशका ठूला व्यावसायिक कर्पोरेशनहरुले आफ्नो कम्पनीका लागि चाहिने नयाँ कामदारहरु भर्ती गर्ने गर्दछन् ।

तर नयाँ कारोना भाइरसका कारण जापानको शैक्षिक क्षेत्रमा परेको प्रभावका कारण शैक्षिक सत्र नै सार्ने विषयमा अहिले व्यापक छलफल अघि बढेको छ ।

जापानमा अघिपछिपनि शैक्षिक सत्र अन्तर्राष्ट्रिय अभ्यास अनुसार मिलान गर्ने बहस उठ्ने गरेको पाईन्छ ।

प्रत्येक बर्षको अप्रिलबाट सुरु हुने शैक्षिक सत्र सारेर सेप्टेम्बरबाट सुरु गर्ने विषयमा अहिले फेरी छलफल सुरु भएको जापानका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सेप्टेम्बरबाट शैक्षिकसत्र सुरु गर्दा जापानी विद्यार्थीहरुलाई बिदेशमा अध्ययन गर्न तथा जापानका विश्वविद्यालयहरुमा विदेशी बिद्यार्थीहरुलाई आकर्षित गर्न सहज पुग्ने विश्वास गरिएको छ ।

शिक्षामन्त्री कोईची हागिउदाका अनुसार शैक्षिकसत्र अप्रिल महिनामा रहँदै आएकोमा यसलाई विकल्पको रुपमा संशोधन गर्न मन्त्रालयले गृहकार्य अघि बढाएको छ । यसका लागि अन्य मन्त्रालयहरुसँग पनि थप समन्वय गर्न आवश्यक रहेको उनले बताएका छन् ।

जस्तो कि कर्पोरेशनहरुले पनि अप्रिल महिना स्नातक अध्ययन सकेका विद्यार्थीहरुबाट कामदार लिने गर्दछन् । यसर्थ शैक्षिक सत्रमा गरिने परिवर्तनसँगै यी क्षेत्रहरुपनि प्रभावित हुने भएकाले थप समन्वय आवश्यक छ ।

शिक्षामन्त्री हागिउदा जापानको शैक्षिक सत्र परिवर्तन गरिनुपर्ने अभियानका एक मुख्य अभियन्ता हुन् । उनका अनुसार जापान विश्वका अरु राष्ट्रसँगै हिड्न शैक्षिक क्षेत्रमा पनि परिवर्तन गर्नुपर्दछ ।

जापानी विद्यार्थिहरु अन्य देशका विश्वविद्यालयमा प्रवेशका लागि शैक्षिक सत्रमा परिवर्तन गर्नु अहिलेको अवस्था उत्तम रहेको उनको तर्क छ ।

प्रधानमन्त्री आबे शिन्जोले पनि संसदको बैठकमा बोल्दै शैक्षिक क्षेत्रमा गरिने यस परिवर्तनले विद्यार्थी, अभिभावक तथा समाजलाई नै प्रत्यक्ष प्रभाव पार्ने भएकाले विकल्पका दायराहरु थप बढाउन छलफल गर्नुपर्ने बताएका छन् ।

यस विषयमा छलफल गर्न डेमोक्र्याटिक फर पिपलले पहिलो पटक कार्य समूहको बैठक आयोजना गरेको छ । जसको उदेश्य विपक्षी पार्टीहरुसँग छलफल र परामर्श गरि सरकारलाई प्रस्ताव बुझाउनु रहेको थियो ।

जापान ईनोभेशन पार्टीले भने आफ्ना प्रस्तावहरु सरकार समक्ष पेश गरिसकेको छ ।

टोकियोकी गर्भनर युरिको कोईकेले यस परिवर्तनले प्राथमिक तह देखी विश्वविद्यालयका विद्यार्थीहरुको रोजगारीका लागि सबै कुराको तालिका परिवर्तन गर्ने बताएकी छिन् । यद्यपी सेप्टेम्बरमा विश्व स्तरको आव्हान गर्दै बिदेशी विद्यार्थीहरुलाइ पनि जापानका विश्वविद्यालयमा आकर्षित गर्न सकिने उनको तर्क छ ।

जापानका सार्वजनिक विद्यालयहरु मार्चको सुरुदेखिनै बन्द छन् । गत अप्रिल ७ बाट सरकारले आपतकाल घोषणा गरेसँगै विद्यालयहरु अझै बन्दको अवस्थामै छन् । यद्यपी केहि विद्यालयहरुले अनलाईन मार्फत पढाई गराईरहेका छन् ।

अप्रिल १६ मा प्रकाशित एक अनलाईन सर्वेक्षणको तथ्यांक अनुसार ५ प्रतिशत विद्यालयहरुले मात्र हाल अनलाईन कक्षा संचालन गरिरहेका छन् ।