टोकियो, जापान ।
आपतकाल घोषणापछि विद्यार्थीहरुलाई कोरोना संक्रमणको भयबाट मुक्त बनाउँदै अध्ययनमा सघाउन टोकियो स्थित एक विश्वविद्यालयले नगद ५ मान येन नगद सहयोग गर्ने भएको छ ।
अनलाईनको माध्यमबाट कक्षा सञ्चालन गर्ने निर्णयसँगै टोकियो स्थित मेईजी गाकुईन् युनिभर्सिटीले प्रत्येक विद्यार्थीलाई ५०,०००/- येन नगद सहयोग गर्ने निर्णय गरेको हो ।
निर्णय अनुसार विश्वविद्यालयले आफ्ना १२ हजार विद्यार्थीहरुलाई प्रतिव्यक्ति ५ मान नगद जापानी येन उपलब्ध गराउनेछ ।
अनलाईन अध्ययन थाल्दा विद्यार्थीहरुमा आर्थिक भार थपिने भएकाले यस्तो नगद सहयोग दिने निर्णय गरिएको विश्वविद्यालयले जनाएको छ ।
टोकियो केन्द्रित यो विश्वविद्यालयको टोकियो मिनातो वार्ड र योकोहामा तोचुका वार्डमा क्याम्पस सञ्चालनमा रहेको छ ।
कोभिड-१९ संक्रमण बढ्दै जाँदा विश्वविद्यालयले अप्रिल ८ तारिखदेखी आफ्नो अध्ययन अध्यापन स्थगित गरेको थियो ।
हालको लागि मे ६ तारिखसम्म आपतकाल घोषणा गरिएपनि संक्रमण बढिरहँदा आपतकाल बढ्ने सम्भावनापछि कयौं विद्यालय र विश्वविद्यालयहरुले अनलाईन अध्ययनलाई व्यापकता दिएका छन् ।
जापान सरकार स्वास्थ्य, संस्कृती, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयका अनुसार ८० प्रतिशत विश्वविद्यालय तथा विद्यालय र निम्न विद्यालयहरु अनलाईन अध्ययनका लागि अग्रसर भएका छन् । अप्रिल १० यता अनलाईन मार्फत विश्वविद्यालय र विद्यालयहरुले अध्ययन अघि बढाएको र यो बृद्धिक्रममा रहेको छ ।
कोरोना संक्रमण रोक्नको लागि सामाजिक दुरी कायम गर्न अनलाईन कक्षा सञ्चालनले सहयोग पुगेपनि यो खर्चीलो रहेको विज्ञहरुले औंल्याउँदै आएका छन् ।
ईन्टरनेटमा पर्याप्त पहुँच, अनलाईन कक्षा लिन उपयुक्त कम्प्युटर, ट्याबलोईड वा स्मार्टफोनको उपलब्धता आवश्यक पर्ने हुनाले अनलाईन कक्षा सञ्चालन गर्ने शैक्षिक संस्थाहरुको लागि सरकारले विशेष सहयोग गर्नुपर्ने माग हुँदै आएको छ । यसको लागि जापान सरकारले आसन्न विशेष आर्थिक प्याकेजमा सम्वोधन गर्ने ठानिएको छ ।