(Japan) 5 th June | 2023 | Monday | 2:55:18 AM || (Nepal) 11:40:18 PM
 
 

सफ्टबैंक फाईभ जी सुरु गर्दै, मुभी डाउनलोड ४ सेकण्डमै-डोकोमो, एयु र राकुटेन यस्तो योजनामा

Laxmi Paudel   POSTED ON : Friday, 06 March, 2020 | Views : 1830

सफ्टबैंक फाईभ जी सुरु गर्दै, मुभी डाउनलोड ४ सेकण्डमै-डोकोमो, एयु र राकुटेन यस्तो योजनामा


टोकियो, जापान ।

सफ्ट बैंक जापानमा फाईभ जि ईन्टरनेटको सेवा सुरु गर्ने पहिलो कम्पनी बन्ने भएको छ ।

मोबाईल सेवा प्रदायक सफ्टबैंक कर्पोरेशनले बिहिबार आगामी मार्च २७ बाट फाईब जी सुपरफाष्ट टेलिकम्युनिकेशनको सुरुवात गर्ने घोषणा गरेको छ ।

प्रविधिको देशको रुपमा परिचय बनाएको जापानमा अर्को पुस्ताको ईन्टरनेट सर्भीसको रुपमा समेत हेरिएको फाईभ जी सेवा लिंदा उपभोक्ताले थप एकहजार जापानी येन तिनुपर्ने बताएको छ ।

हाल तिर्दै आएको शुल्कमा थप एक हजार येन अर्थात् ९ डलर प्रतिमहिना शुल्क थपिने कम्पनीले जनाएको छ ।

जापानको तेस्रो ठूलो मोबाईल सेवा प्रदायक कम्पनी सफ्ट बैंकले फाईभ जि सेवालाई एकसाथ राजधानी टोकियो सहित ओसाका, चिबा, आईचि, हिरोसिमा, ईसिकावा र फुकुओकामा लन्च गर्ने जनाएको छ ।

फाईभ जी सेवालाई जापानभर पुर्याउन मार्च २०२३ सम्ममा १० हजार नयाँ बेस स्टेशन निमार्ण गर्ने सफ्ट बैंकले बताएको छ ।

अनौठ नमान्नुहोला तर फाईभ जी ईन्टरनेट प्रयोग गर्नको लागि ५ जी क्षमताको मोबाईल फोन हुनुपर्नेछ । सफ्टबैंकले मार्च २७ देखी दुई प्रकार र यसै बर्षको अन्त्यतिर थप दुई प्रकारका फाईभ जी ईन्टरनेट चलाउन मिल्ने मोबाईल बजारमा ल्याउँदैछ ।

सफ्टबैंकको फाईभ जी ईन्टरनेट चलाउन मिल्ने मोबाईल सार्प, जेटटिई र एलजि कम्पनीले निर्माण गरिसकेका छन् ।

जापानको सर्वाधिक प्रयोगकर्ता रहेको एनटिटि डोकोमो ईन्क र केडिडिआई कर्पोरेसन एयु मोबाईलले पनि फाईभ जि ईन्टरनेट सेवा सुरुवात गर्ने योजना अघि बढाईरहेको जनाएको छ ।

अर्को चौथो ठूलो सेवा ग्राहीसँख्या रहेको राकुटेनले भर्खरै २९८० येनमै महिनाभर फोर जी ईन्टरनेट चलाउन मिल्ने सेवा सहितको नयाँ प्याकेज ल्याएको छ ।

उसले आगामी जुन महिनाबाटै फाईभ जी सेवा समेत सुरुवात गर्ने घोषणा गरेको छ ।

फाईभ जी ईन्टरनेट सेवाबाट फोर जी सेवामा भन्दा १ सय प्रतिशत छिटो कुनैपनि डाटा पठाउन र प्राप्त गर्न सकिने बताईएको छ ।

फाईभ जी ईन्टरेट कति फाष्ट छ भने दुई घण्टाको कुनैपनि चलचित्र एचडि गुणस्तरमा डाउनलोड हुन केही सेकेण्डमात्र लाग्ने छ ।

हालसम्म फाईभ जी सेवाको प्रयोग चीन, दक्षिण कोरिया, अमेरिकामा भईरहेको छ भने केही युरोपीयन देशमा परिक्षणको रुपमा सुरुवात भएको छ ।