टोकियो, जापान ।
जापानमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि आगामी अप्रिलबाट जापान प्रवेश थप कठिन हुने भएको छ ।
जापानले नेपाली विद्यार्थीहरुले भिषा आवेदन गर्दा अतिरित्त कागजात बुझाउनुपर्ने नियम सहित कागजातमाथी कडाईका साथ चेकजाँच गर्नेभएको छ ।
जापानको अध्यागमन कार्यालयले जारी गरेको नयाँ नियमानुसार आगामी अप्रिल ईन्टेकदेखी भिषा आवेदनमा थप कडा प्रावधानहरु लागू हुनेछ ।
जापानको विद्यार्थी भिषा प्रक्रिया कडाई पारिने देशहरुको सूचिमा नेपाल सहित भियतनाम, चाईना, म्यानमार, श्रीलंका, बंगलादेश र मंगोलिया रहेका छन् ।
कडाई गरिएका यि देशका विद्यार्थीहरुको जापानमा अध्ययन भन्दा काम, शरणार्थी आवेदन, अवैधानिक बसाई, गैर कानुनी क्रियाकलापमा संलग्नता आदि बढेपछि भिषामा कडाई गरिएको बताईएको छ ।
नेपालबाट भिषा आवेदन गर्दा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश भएको पाईएकाले पनी त्यसमा थप कडाई गरिन लागिएको जनाईएको छ ।
यसैगरि बैंक मौज्दात, पारिवारिक आर्थिक अवस्था आदि समेत फर्जी कागजात बनाएर पेश गरेको पाईएको बुझिन्छ ।
यस बाहेक पारिवारिक गलत नाता प्रमाणित कागजात, आर्थिक अवस्था बढी देखाउन अस्वाभाविक आम्दानीको श्रोत पेश गरेको प्रमाण जापानी अधिकारीहरुले फेला पारेका छन् ।
जापानमा धेरै विद्यार्थी आउने गरेका नेपाल सहित ७ देशमाथिको यो कडाई ८० देशमाथी लागू हुने छ ।
विद्यार्थी भिषा आवेदन कडाईमा परेका देशहरुमा अफगानिस्तान, बंगलादेश, भुटान, कम्बोडिया, ईजिप्ट, ईथियोपिया, घाना, हाईटी, भारत, ईण्डोनेशिया, केन्या, माली, मंगोलिया, म्यानमार, पाकिस्तान, श्रीलंका, सिरिया, सुडान, यमन, जिम्बाबे लगायत रहेका छन् ।