टोकियो, जापान ।
प्रविधिमा सँधै अब्बल जापानले नयाँ प्रयोग गर्दै खेर गएको खानाबाट विद्युत् उत्पादन थालेको छ ।
जापानमा खेर फालिएका खानाको संकलन गरेर त्यसलाई रिसाईकल गरि विद्युत उत्पादन गर्ने नयाँ प्रविधि प्रयोगमा ल्याइएको हो ।
जेएफई इन्जिनियरिङ कर्पोरेसनले नयाँ प्रविधिको अनुसन्धान र निर्माणका लागि हालै “जे बायो फूड रिसाइकल” कम्पनी स्थापना गरि विद्युत् उत्पादन थालेको छ ।
जेएफई कम्पनीले सन् २०१८ को अगस्ट बाट प्रयोगमा नआएको तथा खेर फालिएका खानाबाट बायोग्यास बनाउने परियोजनाको सुरुवात गरेको थियो ।
कम्पनीका अध्यक्ष हाजिमे ओशिताले खाद्य उद्योग तथा घरहरुबाट फालिएको खानाको प्रयोग गरी विद्युत् उत्पादन सेवाको शुरुवात गरिएको बताएका छन् । उक्त कम्पनीले फोहोर संकलन, फोहोर बिसर्जन, ऊर्जा उत्पादन र विद्युत बिक्रीको काम गरिरहेको अध्यक्ष होशिताले बताए ।
जापानमा बिरलै देखिने यस्तो परियोजना आफुहरुले सुरुवात गरेको जनाउँदै होशिताले वातावरण, ऊर्जा र पुर्नप्रयोगलाई ध्यानमा राखेर कम्पनीले काम गरिरहेको जानकारी दिएका छन् ।
परियोजनाले हाल हरेक दिन ८० टन खाद्यान्न फोहोरलाई सूक्ष्मजीवीय विधिद्वारा प्रशोधन गर्ने गरेको छ । प्रशोधित फोहोरबाट मिथेन ग्यास उत्पादन हुने र त्यसको प्रयोगबाट विद्युत उत्पादन हुने अध्यक्ष होशिताले जानकारी दिएका छन् ।
खाद्यान्न कारखाना, होटल रेष्टुराँ, ट्रेन स्टेशन, ठूला कम्पनी आदिमा जम्मा हुने खाद्य फोहोरलाई संकलन गर्ने कार्यक्रम पनि कम्पनीले गरिरहेको जनाएको छ ।
कम्पनीले संकलीत फोहोरबाट नगल्ने नकुहिने वस्तु छुट्याएर बायोग्याँस बनाएपछि विद्युत् उत्पादनको लागि प्रयोग गरिने गरेको छ ।
बायोग्याँसको रुपमा प्रशोधित फोहोरलाई मिथेनसँगको मिश्रणपछिको बायोग्यासको सहयोगमा विद्युत उत्पादन गरिन्छ । यो विद्युतलाई नवीकरणीय ऊर्जाका रुपमा बिक्री गरिन्छ । जे बायो फूड रिसाइकलका निर्देशक रहेका सातोरु उडागावाले कम्पनीसँग अहिले ४ लाख घनमिटर क्षमताका ठूला ग्याँस भण्डारण ट्याँक रहेको जानकारी दिए ।