टोकियो, जापान ।
जापानले चन्द्रमाको सतहमा उत्रने आफ्नो अभियान अन्तर्गत बिहिबार अध्ययनका लागि सफलतापूर्वक रकेट प्रक्षेपण गरेको छ । खराब मौसमका कारण कयौँपटक स्थगित गरिएको जापानको ‘मून ल्यान्डर मिसन (स्लिम)’ बिहीबार बिहान सफलतापूर्वक प्रक्षेपाण गरिएको हो ।
स्लिम (स्मार्ट ल्यान्डर फर इन्भेस्टिजेटिङ मून) नामको यस मिसन चन्द्रमाको सतहमा लगभग पाँच महिनाभित्र (फेब्रुअरीभित्र) अवतरण गर्ने सम्भावना छ । रकेट प्रक्षेपण बिहिबार बिहान जापानी समय अनुसार ८ बजेर ४२ मिनेटमा खागोशिमा प्रान्तको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट गरिएको थियो ।
दुई साता अघिमात्र चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण गराएको भारतको इसरोले ट्वीट गर्दै ‘जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीलाई चन्द्रमाको लागि स्लिम ल्यान्डरको सफलतापूर्वक लञ्च गरेकोमा बधाई । वैश्विक अन्तरिक्ष समुदायको तर्फबाट अर्को एक सफल चन्द्र अभियानका लागि शुभकामना ।’ लेखेको छ ।
यदि यो मिसन सफल भयो भने जापान चन्द्रमाको सतहमा उत्रने विश्वको पाँचौँ देश बन्नेछ । अहिलेसम्म चन्द्रमामा अमेरिका, रुस, चीन र भारतले मात्र सफलतापूर्वक आफ्नो यान अवतरण गराएको छ ।
जाक्साद्धारा विकसित मनावरहित अनुसन्धान कार्यका लागि जापानले १० करोड डलर खर्च गरेको छ ।
यस यानले चन्द्रमामा चट्टानहरु जाँच गर्ने जस्ता योजनाहरु बनाएको छ ।