टोकियो, जापान ।
छिमेकी देश भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा विश्वमै पहिलो पटक मानवरहित अन्तरिक्षयानको सफल अवतरण गराएको छ ।
हालसम्म कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने पहिलो देश बन्दै भारतीय चन्द्रयान पहिलो पटक चन्द्रमामा नियन्त्रित अवतरण भएको हो ।
चन्द्रयान ३ को विक्रम ल्यान्डर योजना अनुरुप नै भारतीय समय अनुसार बुधवार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रमामा अवतरण भएको अधिकारीहरुले बताएका छन् ।
४ जुलाईमा भारतीय समय अनुसार दिउँसो २ बजेर ३५ मिनेटमा श्रीहरिकोटाबाट उडान गरेको चन्द्रयान ३ चालीस दिन लामो यात्रा पूरा गर्दै चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेको हो ।
चन्द्रयान ३ ले चन्द्रमाको सतह छोए लगत्तैदेखि भारतीयहरुले खुसीयाली मनाइएका थिए ।
अमेरिकी अन्तरिक्ष संस्था नासा र युरोपेली अन्तरिक्ष निकाय इएसएले चन्द्रयान ३ को सफलताका लागि इसरोलाई बधाई दिएका छन् ।
वैज्ञानिकहरूले अवतरणअघिको अन्तिम १५ मिनेट समयलाई निकै महत्त्वपूर्ण एवं त्रासपूर्ण बताएकाले उक्त अवधिलाई व्यग्रताका साथ संसारभरबाट हेरिएको थियो ।
यसै साता रुसी अन्तरिक्षयान अवतरणका क्रममा दक्षिण धुर्वमा दुर्घटनाग्रस्त हुँदा भारतीय चन्द्रयानप्रति थप कौतुहलता र चिन्ता बढाएको थियो ।
चन्द्रयान ३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नु रहेको बताइएको छ । पानीको स्रोतका रूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिकहरूले आसा गरेका छन् ।
अगस्टको सुरुतिर चन्द्रमाको कक्षमा प्रवेश गरेसँगै त्यसमा रहेको ल्यान्डर विक्रमले चन्द्रमाको सतहका तस्बिरहरू पठाइरहेको छ ।
चन्द्रयान ३ को सफल अवतरणसँगै भारत चन्द्रमाको सतहमा पुग्ने चौथो देश पनि बनेको छ।
यसअघि अमेरिका, तात्कालिक सोभियत सङ्घ र चीनले ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्यरेखा वरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका छन् ।
भारतको यस तेस्रो चन्द्र अभियानको सफलताको प्रार्थना गर्दै त्यहाँ बुधवार दिउसैदेखि मन्दिर, मस्जिद र गिर्जाघरहरूमा प्रार्थना कार्यक्रमहरू आयोजना गरिएका थिए।
यसअघि सन् २०१९ मा समेत भारतले चन्द्रयान २ मिसनलाई दक्षिणी ध्रुवनजिकै अवतरण गराउने प्रयास गरेको थियो।
तर यान दुर्घटनाग्रस्त भएपछि उक्त अभियान विफल भएको थियो ।
सन् २००८ मा भारतले पठाएको पहिलो चन्द्र मिशन चन्द्रयान-१ ले चन्द्रमाको सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो।
त्यसले दिउँसोको समयमा चन्द्रमामा वायुमण्डल पनि हुने जनाएको थियो ।