(Japan) 3 rd October | 2023 | Tuesday | 7:01:06 AM || (Nepal) 3:46:06 AM
 
 


अवतरण हुनै लाग्दा रुसको अन्तरिक्षयान चन्द्रमामा दुर्घटनाग्रस्त

  POSTED ON : Monday, 21 August, 2023 | Views : 322

अवतरण हुनै लाग्दा रुसको अन्तरिक्षयान चन्द्रमामा दुर्घटनाग्रस्त


एजेन्सी, टोकियो ।

रुसले झण्डै ५ दशकपछि चन्द्रमामा पठाएको अन्तरिक्षयान चन्द्रमामा अवतरण हुनै लाग्दा दुर्घटनाग्रस्त भएको छ ।

रुसले चन्द्रमामा नियन्त्रित अवतरण गर्ने उद्देश्यसहित पठाएको अन्तरिक्षयान मानव रहित थियो ।

उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पहिलो देश बन्ने लक्ष्य सहित मस्कोले प्रक्षेपण गरेको थियो ।

लूना २५ नाम दिइएको अन्तरिक्षयान झण्डै ५० वर्षमा रुसको पहिलो चन्द्र अभियान थियो ।

यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो सफल चन्द्रयान प्रक्षेपण गरेको थियो ।

अवतरण गर्नु मात्र एक दिन अघि कक्षमा पुगेपछि समस्या देखिएको र दुर्घटनामा परेको रुसी अन्तरिक्ष अभियानका अधिकारीहरुले बताएका छन् ।

रुसी सरकारी अन्तरिक्ष निकाय रोसकोमोसले लूना २५ मा समस्या देखा परेलगत्तै त्यससँग सम्पर्क गुमाएको जनाएको छ।

उक्त यानको अवतरण सोमवारका लागि तय गरिएको थियो ।

चन्द्रमाको उक्त क्षेत्रमा बरफ र महत्त्वपूर्ण तत्त्वहरू हुनसक्ने वैज्ञानिकहरूले पूर्वानुमान गरेका छन् ।

पश्चिमा प्रतिबन्धहरूको सामना गरिरहेको रुसले थप चन्द्रयानहरू पठाउने र चीनसँग मिलेर पनि अन्तरिक्ष अभियान अघि बढाउने बताएको छ ।

हालसम्म कुनै पनि देश नपुगेको दक्षिणी ध्रुवमा यतिखेर भारतको चन्द्रयान ३ अर्को साता त्यहाँ अवतरण गर्ने प्रयासमा छ ।