टोकियो, जापान ।
जापानमा वैज्ञानिकहरु दुई ओटा भाले मुसाबाट बच्चा जन्माउन सफल भएका छन् । वैज्ञानिकहरुले एउटा भाले मुसाको स्टेम कोषलाई प्रयोगशालामा पोथी मुसाको कोषमा परिणत गरेर बच्चा जन्माएका हुन् । यसले मानवहरुमा पनि भविष्यमा यस्तै खालको प्रयोग सफल होला कि भन्ने आशा जगाएको छ । सबै मध्ये केही मुसाको बच्चाहरु मात्रै जिउँदै जन्मिएका थिए ।
मावनको कोषले पनि यस्तै गरी काम गर्छ त भन्ने प्रश्नको उत्तर भने अहिलेसम्म भेटिएको चाँहि छैन । तर पुरुष मुसाको स्टेम कोषलाई महिलाको कोषमा बदलेर बच्चा जन्माउनु भने चानचुने उपलब्धि होइन । यो स्टेम सेल र प्रजनन जीव विज्ञानका लागि कोशेढुंगा भएको बताइएको छ । वैज्ञानिकहरुले आफ्नो यो अनुसन्धानसम्बन्धी पेपर हालै नेचर नामक जर्नलमा प्रकाशित गरेका थिए ।
यो अनुसन्धानमा उनीहरुले भाले मुसाको पुच्छरको स्किन सेल लिए अनि यसलाई प्लुरिपोटेन्ट स्टेम सेल्समा परिणत गरे । यस्तो खालको कोषलाई फरक खालको कोष वा तन्तुमा विकसित गराउन सकिन्छ । यसलाई औषधिको सहायताले बढाएर भाले मुसाको स्टेम कोषलाई महिलाको कोषमा परिणत गरियो । अनि अन्ड कोष उत्पादन गरियो । अनि अन्तिममा उनीहरुले सो कोषलाई फर्टिलाइज भ्रुणलाई पोथी मुसाको कोखमा राखिदिए ।
यसरी निशेषित गरिएको ६३० ओटा भ्रुणमध्ये १ प्रतिशत मात्रै जीवित जन्मिन सके । यी मुसाका बच्चाहरु सामान्य रुपमै हुर्किन अनि सामान्य तरिकाले जन्मिएका बच्चाहरु झैं बाबुआमा बन्न सक्ने अनुसन्धानका प्रमुख अनुसन्धाता तथा क्युशु विश्वविद्यालय र ओसाका विश्वविद्यालयका वैज्ञानिक काचुहिको हायाशीले बताएका छन् । यसले प्रजनन जीव विज्ञान र अनुसन्धानमा नयाँ बाटो खोलेको छ ।
यसलाई अझै परिस्कृत गरेर अहिले संकटापन्न अवस्थामा पुगेका स्तनधारी जीवहरुमा भालेबाट मात्रै सन्तान जन्माउन सकिने आशा पलाएको छ । यसले समलिंगी मानव पुरुषहरुलाई समेत आफ्नै सन्तान जन्माउने अवसर दिने आशा देखाएको छ । पोथी मुसाको कोखमा राखिएको केही भ्रुण मात्रै जीवित हुनुले भने अनेक आशंका उत्पन्न गराएको छ । यो विधिले मानव स्टेम कोषमा काम गर्छ कि गर्दैन् भन्ने अर्को प्रश्न पनि छ ।