(Japan) 31 st January | 2023 | Tuesday | 6:52:02 PM || (Nepal) 3:37:02 PM
 
 

'अन्तरिक्षको पढाइ नेपालका पहाडबाट उपयुक्त'-डा. विनोद अधिकारी

  POSTED ON : Tuesday, 29 November, 2022 | Views : 478

'अन्तरिक्षको पढाइ नेपालका पहाडबाट उपयुक्त'-डा. विनोद अधिकारी


नेपालका पहाड हाई अल्टिच्यूडबाट हुने अध्ययनका लागि उपयुक्त रहेको विश्वका धेरै शोधकर्ताले उल्लेख गरेका छन्। नेपालमा ६ हजार मिटर उचाइभन्दा माथि सयभन्दा बढी पहाड छन्।

पृथ्वी किन घुम्छ? तारा के हो? पृथ्वी बाहिर के छ? ग्रहणले कस्तो असर गर्छ? आकाशबाट चट्टान किन खस्छ?

यी यस्ता प्रश्न हुन्, जसको उत्तर ब्रह्माण्ड र त्यहाँ भइरहेको परिवर्तन सम्बन्धी ज्ञान दिने अन्तरिक्ष विज्ञानले मात्र दिन सक्छ। अन्तरिक्षको अध्ययन पृथ्वी बाहिरको संसार बुझ्न मात्र नभएर दैनन्दिन जीवनका लागि समेत आवश्यक मानिन्छ। नेपालका उच्च पहाड यस्तो अध्ययनका लागि उपयुक्त हुने वैज्ञानिकहरू बताउँछन्।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सहप्राज्ञ डा. विनोद अधिकारीका अनुसार, हाम्रा पहाडलाई सामान्य पूर्वाधार बनाएकै भरमा अन्तरिक्ष अध्ययनमा प्रयोग गर्न सकिन्छ। तारा, नक्षत्र, ग्रहबारे बुझ्न घर, रूख सहित अग्ला संरचनाले नछेकिने तथा अर्को डाँडोले असर नगर्ने स्थानमा टेलिस्कोप राखिनुपर्छ। “हामीकहाँ आकाश पनि खुला रहन्छ जस कारण अन्तभन्दा स्पष्ट चित्रहरू आउन सक्छन्,” उनी भन्छन्, “यस्ता अध्ययन केन्द्र बनाउन सके नेपाल विश्वभरिका विद्यार्थीको आकर्षण बन्न सक्छ।”

अधिकारीका अनुसार, तत्काललाई डाँडामा ‘अब्जरभेटिभ’ (प्रविधियुक्त घर) बनाई त्यसको छतमा गोलो संरचना (डोम) तयार पारेर टेलिस्कोप राख्न सकिन्छ। अहिलेका डोमहरूमा ३६० डिग्रीसम्मका विभिन्न कोण बनाएर हेर्न सकिने अत्याधुनिक टेलिस्कोप राखिन्छन्। उनी भन्छन्, “हामीकहाँ अन्तरिक्ष अध्ययन केन्द्र छैनन्, अहिलेका लागि यस्ता डोमहरू नै बनाउँदा पनि अन्तरिक्ष विज्ञान अध्ययन गर्न चाहने धेरैलाई सहज हुने थियो।”

पहाडका टाकुरामा हावा पातलो हुने, आर्द्रता नहुने, धूलो नहुने, वरिपरि बोटविरुवा नहुने भएकाले अन्तरिक्ष अध्ययनका लागि उपयुक्त मानिएको त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन विनिल अर्याल बताउँछन्। उनका अनुसार, नेपालका पहाड हाई अल्टिच्यूडबाट हुने अध्ययनका लागि उपयुक्त रहेको विश्वका धेरै शोधकर्ताले आफ्ना अनुसन्धानमूलक लेखमा उल्लेख गरेका छन्। नेपालमा ६ हजार मिटर उचाइभन्दा माथि सयभन्दा बढी पहाड छन्। पेरु, चिली, अमेरिकाको हवाईका पहाडमा पनि यस्ता केन्द्र राखिएका छन्। उनीहरूले उच्च ठाउँ भनी चार हजार दुई सय मिटरमै टेलिस्कोप राखेका छन्। “८–१० वर्षअघि नर्वेको प्रोजेक्टले नेपाल र तिब्बतका क्षेत्रलाई तीभन्दा उपयुक्त भने पनि हामीले पूर्वाधार निर्माणमा चासो दिएनौं,” उनी भन्छन्, “प्राज्ञिक क्षेत्रले यो कुरा बुझे पनि सरकारी तहमा चासो छैन।”

अन्तरिक्ष अध्ययनकै लागि भनेर नासा र यूरोपियन एजेन्सीहरूले थुप्रै टेलिस्कोप तयार पारिसकेका छन्। सन् २०११ मा संयुक्त राष्ट्रसंघले ब्रह्माण्ड बुझ्न आवश्यक यन्त्र र तथ्याङ्कमा सबै पृथ्वीबासीको हक रहेको विषय उठाएपछि सम्बद्ध संस्थाहरूले एकअर्कालाई उपलब्ध पनि गराउँदै आएका छन्। नेपालका विद्यार्थीले पनि त्यहाँबाट तथ्याङ्क लिन सक्छन्। भियतनाम, चीन लगायत देशमा पनि पहिले त्यसै गरी अध्ययन थालिएको हो।

नेपालमा अध्ययन केन्द्र नभएकैले विद्यार्थीले आफूले अनुसन्धान गर्ने नभई अन्तबाट तथ्याङ्क उपलब्ध हुने विषय रोज्ने गरेको अर्याल बताउँछन्। “जस्तो, तारा कसरी बनेको छ भन्नेबारे अझै थुप्रै अध्ययन हुन बाँकी छ। त्यस सम्बन्धी तथ्याङ्क लिन निःशुल्क ओपन सफ्टवेयर पाइन्छ,” उनी भन्छन्, “त्यसैले स्नातकोत्तरमा पढ्नेहरू ताराभन्दा तलका ग्रह, सौर्यमण्डल जस्ता विषयको अध्ययनमा बढी केन्द्रित छन्।”

अमेरिकाको हवाईस्थित आइल्यान्ड ज्वालामुखी विस्फोटबाट बनेको पहाड हो। यसैलाई त्यहाँ अध्ययन केन्द्रका रूपमा विकास गरिएको छ। दुई हजार मिटर मात्र उचाइ भए पनि ज्वालामुखीले बन्जर बनाएकाले त्यहाँ घाँस, किरासम्म छैनन्। अन्तरिक्षबाट प्राप्त तथ्याङ्क जीव, बिरुवाको सम्पर्कले प्रभावित हुन सक्ने भएकाले एकदम सुक्खा ठाउँ चाहिन्छ। स्पेनको क्यानबेरामा पनि सडक बत्ती सबै भूमिगत गरिएको छ। पछि कति गाउँ नै सारियो। अन्तरिक्ष अध्ययनकै लागि त्यहाँ कृत्रिम बत्ती समेत राख्न पाइन्न। भारतमा पुना नजिकै नारायण गाउँ छ जहाँ ‘जीओआरटी’ नामक ठूलो प्रयोगशाला छ। यो प्रयोगशाला राख्न त्यहाँ ६–७ वटा गाउँ नै हटाइए।

हाई अल्टिच्यूडमा स्थानीय अवरोध खासै हुँदैनन्। तीन हजार मिटरमै बिरुवा धेरै सानो हुन्छ। ६ हजार मिटरमा त बिरुवा नै पाइँदैन। अर्यालका अनुसार, बिरुवा नहुनु अन्तरिक्ष अध्ययनका लागि एकदम राम्रो हो। “किनकि बिरुवाले अक्सिजन लिने, सूर्यको प्रकाश लिने, फोटोसिन्थेसिस जस्ता काम गर्छ। त्यसले टाढा आकाशबाट आउने सङ्केतलाई बिगार्छ,” उनी भन्छन्, “त्यसैले हाम्रो हाई अल्टिच्यूडमा अन्तरिक्षसँगै माउन्टेनीयरिङ, हिमनदीसँग सम्बद्ध विज्ञानको अध्ययनको पनि राम्रो सम्भावना छ।”

नेपालको ६८ प्रतिशत जमीन पहाडी छ। त्यसमा पनि चार हजार मिटर अग्ला पहाडको संख्या १४ हजार जति रहेको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक मोतीलाल घिमिरे बताउँछन्। उचाइ जति बढ्दै गयो, जमीन उति भिरालो हुने, जनजीवन कठिन हुने, हिउँ जम्ने, हावापानी, वातावरण पनि बस्ती बसाउन उपयुक्त नभएकाले ती ठाउँ अन्तरिक्ष अध्ययनमा उपयोग गर्न सकिने उनको भनाइ छ।

हाल बीपी कोइराला मेमोरियल प्लानेटेरियम अब्जरभेटोरी एन्ड साइन्स म्यूजियम नेपालको एक मात्र सार्वजनिक विज्ञान अध्ययन केन्द्र हो। नगरकोटस्थित उक्त प्लानेटोरियममा प्रायः असोजदेखि फागुनसम्म आकाश खुला देखिने, पानी नपर्ने र बादल नलाग्ने समयमा स्कूल–कलेजका विद्यार्थी अवलोकन र अध्ययनका लागि पुग्ने गरेका छन्। त्यहाँ अप्टिकल ब्यान्डको टेलिस्कोप राखिएको छ, जसबाट आकाश खुला भएका वेला ग्रहहरू, चन्द्रमा, त्यसका क्रेटरहरू अलि अलि देख्न सकिन्छ। इन्फ्रारेड, फार इन्फ्रारेड लेन्सका टेलिस्कोप ल्याउन सकिए यी कुरा बादल लागेको वेला समेत स्पष्ट देखिने अधिकारी बताउँछन्।

नेपालमा विद्यालय तहमा विज्ञान विषय पढाइ हुने गरे पनि विद्यार्थीले आकाशका गतिविधि आफ्नै आँखाले हेर्न पाउँदैनन्। अर्यालका अनुसार, उच्च शिक्षामा वार्षिक ३५० जनासम्म भौतिकशास्त्र पढ्ने विद्यार्थी हुन्छन्। तिनको आधाजति मुख्य विषय अन्तरिक्ष विज्ञान हुन्छ। उनीहरूले अरू देशले राम्रा टेलिस्कोपले निकालेका तस्वीर, तथ्याङ्क जुटाएर अध्ययन गर्नुपर्छ। धेरैजसो नासाका तस्वीर, तथ्याङ्क पढाइन्छन्। स्नातकोत्तर मात्र नभई स्नातक, बीईसम्मका विद्यार्थीले अन्तरिक्ष विज्ञान, स्पेस साइन्स एस्ट्रोनोमीका तथ्याङ्क प्रयोग गर्छन्।

विज्ञहरूका अनुसार, एक दशकयता एस्ट्रोनोमी, एस्ट्रोफिजिक्सका विद्यार्थी विदेश जाने गरेका छन्। खास गरी पढाइ सकेर वा अनुसन्धान गर्नासाथ लगभग ९५ प्रतिशत विद्यार्थी बाहिर जान्छन्। हाल यस्ता दुई हजारभन्दा बढी विद्यार्थी विदेशमा रहेकामा ७० प्रतिशत जति अमेरिकामा छन्। पढेर फर्कने सयमा ५–६ जना मात्र हुन्छन्। “देशले उनीहरूलाई धान्न सक्ने पूर्वाधार नबनाएकैले विदेशमा बस्नुपरेको हो,” अर्याल भन्छन्।

नेपालमा अध्ययन केन्द्रका लागि उपयुक्त स्थान धेरै भए पनि सरकारले स्थापना गर्न तत्परता देखाएको छैन। अधिकारी अहिलेलाई नियमित बजेट, चलाउन र मर्मत गर्न जान्ने जनशक्ति तथा प्राप्त तथ्याङ्क सङ्कलनको व्यवस्था मात्र मिलाइएपछि आफैं चल्दै जाने बताउँछन्। “यस्ता केन्द्र दुई–चार करोडमै बनाउन सकिन्छ। अहिले प्रदेश ६ मा अब्जरभेटोरी राख्यौं भने त्यहाँबाट आउने तथ्याङ्क काठमाडौंबाटै परिचालन गर्न सकिन्छ। हामीले उपयुक्त स्थान खोजी टेलिस्कोप राख्न डकुमेन्ट पनि बनाएर दिएका छौं,”  उनी भन्छन्, “तर कार्यान्वयनमा आएको छैन।”


ओझेलमा हाई अल्टिच्यूडको पिरामिड ल्याब

नेपालमा तीन दशकअघि अर्थात् सन् १९९० मै पाँच हजार ५० मिटर उचाइमा, सगरमाथा राष्ट्रिय निकुञ्जको लोबुचेमा अध्ययन केन्द्र स्थापना भएको थियो। सिसा, अल्मुिननियम प्रयोग गरेर बनाइएको तीनतले प्रयोगशाला पिरामिड आकारमा छ। सौर्य शक्तिले चल्ने उक्त प्रयोगशालामा २० जना शोधकर्ता बसेर काम गर्न सक्छन्। त्यहाँ टेलिफोन र इन्टरनेटको सुविधाका साथै तथ्याङ्क प्रशोधनका लागि छुट्टै स्थान छ। तर, अहिले उक्त केन्द्र प्रयोगविहीन रहेकाले धेरै उपकरण राम्ररी चल्दैनन्, प्रविधि नष्ट हुने जोखिम छ।

इटालीको इभिकेटु सिएनआर कमिटी र नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट)ले संयुक्त रूपमा बनाएको प्रयोगशालाले अन्तर्राष्ट्रिय समुदायलाई वातावरण, जलवायु परिवर्तन, भूगोल लगायत बारे अध्ययन गर्न दिंदै आएको थियो। कमिटीले आफ्नो वेबसाइटमा राखेको जानकारी अनुसार, सन् २००९ सम्म त्यहाँबाट ५२० वटा वैज्ञानिक अनुसन्धान गरिएका छन्, जहाँ १४३ वैज्ञानिक संस्थाका २२० शोधकर्ता सम्मिलित थिए।

इटालियन भूगोलशास्त्री अर्डिटो डेसिओ र पर्वतारोही तथा व्यापारी अगस्टिनो डा पोलेन्जाको अग्रसरतामा खुलेको प्रयोगशाला इटाली सरकारले सन् २०१४ मा सहयोग रोकेपछि अन्योलमा परेको हो। यसलाई पुनः सञ्चालनमा ल्याउन नास्टले गत वर्ष दुई करोड रुपैयाँ बजेट मागे पनि सरकारले उपलब्ध गराएको छैन।

नास्टका प्रवक्ता रवीन्द्र ढकाल इटाली सरकारले लगानी गर्न छाडेपछि प्रयोगशालाको काममा बाधा परेको बताउँछन्। उनका अनुसार, अहिले पनि त्यहाँ भू–उपग्रह, जीपीएस मोनिटरिङ, भूकम्पीय सेन्सरदेखि कम्युनिकेशनसम्मका काम भइरहेकै छन्। तर, अरू काम गर्न पाइएको छैन। “यहाँबाट रियल टाइम डाटा गएको छ, कतिपय डाटा स्टोरेज भएर पनि बसेका छैनन्,” उनी भन्छन्, “ती डाटा प्रशोधनका लागि आवश्यक जनशक्ति विकास गर्न, कर्मचारी भर्ना गर्न पाइएको छैन। यी काम अन्य संस्थाको सहकार्य विना सम्भव हुँदैन।”

...

साभार :सुशीला बुढाथोकी /हिमाल खवर