(Japan) 3 rd October | 2023 | Tuesday | 5:46:34 AM || (Nepal) 2:31:34 AM
 
 


निलो प्रमाणित ट्विटर खाता भएकाले मासिक ८ डलर तिर्नुपर्ने

  POSTED ON : Wednesday, 02 November, 2022 | Views : 1108

निलो प्रमाणित ट्विटर खाता भएकाले मासिक ८ डलर तिर्नुपर्ने


एजेन्सी ।

इलोन मस्कले ट्विटरको प्रमाणित खाताका लागि प्रयोगकर्ताबाट मासिक ८ डलर  ( झन्डै १, ०६३ रुपियाँ) शुल्क लिने बताएका छन् ।

उक्त सामाजिक सञ्जाललाई ४४ अर्ब डलरमा खरिद गरेपछि यसका मालिक मस्कले ‘स्पाम/ठगीलाई पराजित गर्न’ त्यो अपरिहार्य रहेको जनाएका छन् ।

हाल मुख्य गरी उच्च पदस्थ व्यक्तिहरूको खातामा नामको पछाडि निलो टिक निःशुल्क छ ।

यो कदमले विश्वसनीय स्रोतहरू पहिचान गर्न अप्ठेरो बनाउने आलोचकहरूले बताएका छन्।

विश्वका धनी व्यक्ति रहेका मस्कले शुल्क तिर्ने प्रयोगकर्ताहरूले थप सुविधा पाउने भन्दै उनीहरूले जबाफ दिँदा र खोजीमा प्राथमिकता पाउने र आधा विज्ञापनमात्रै प्राप्त गर्ने जनाएका छन् ।

मासिक ८ डलरमा निलो टिक दिने निर्णयले मानिसहरूलाई शक्तिशाली बनाउने भन्दै उनले विगतको खाता प्रमाणीकरण प्रणालीलाई ‘मालिक र दास प्रणाली’ का रूपमा उल्लेख गरेका थिए ।

यसअघिको ट्विटरको भेरिफिकेशन प्रणालीमा एउटा संक्षिप्त अनलाईन निवेदन फारम्म आवश्यक पर्थ्यो। त्यस्तो प्रमाणित खाता लोकप्रिय व्यक्तित्वहरू, राजनीतिज्ञहरू, आधिकारिक निकाय, सस्था र पत्रकारहरूलाई उपलब्ध गराइन्थ्यो ।

सन् २००९ मा नक्कली खाताहरू नियन्त्रणका लागि पर्याप्त कदमहरू नचालेको आरोप सहित कानुनी चुनौतीहरूको सामना गर्नुपरेपछि उसको त्यस्तो निर्णय आएको थियो।

तर वर्षौँदेखि नाफा नकमाइरहेको ट्विटरको व्यवसायलाई पुनर्संरचना गर्न खोजिरहँदा मस्कले ठूला चुनौतीहरू सामना गर्नुपर्ने देखिन्छ।

उनले ट्विटरको विज्ञापन निर्भरता आफूले कम गराउन चाहेको बताएका छन्। मस्कको नेतृत्वमा उक्त वेबसाइटमा विज्ञापन दिने विषयमा कतिपयले चिन्ता व्यक्त गरेका छन् ।

कतिपय ब्रान्डहरूले मस्कले गर्ने परिवर्तनले कस्ता फेरबदल ल्याउँछन् त्यो हेर्नलाई मौन रूपमा विज्ञापनमा अस्थायी रोक लगाएको एउटा अग्रणी विज्ञापन फर्मका लगानीकर्ताले बताएका छन्।

सोमबार संसारकै ठूलो मध्येको एउटा विज्ञापन कम्पनी आइपीजीले आफ्ना ग्राहकहरूलाई एक हप्ताका लागि ट्विटरमा विज्ञापन नगर्न सुझाव दिएको थियो।

कतिपय ट्विटर प्रयोगकर्ताहरूले भने मस्कको यस्तो नियमप्रति आपत्ति जनाउँदै टिप्पणी गरेका छन् ।

तर मस्कले जवाफको रुपमा त्यस्ता गुनासो गर्नेहरूलाई लक्षित गर्दै उक्त नियम अनिवार्य भएको बताएका छन् । बुधबार मस्कले ट्विटमार्फत् भनेका छन्, 'सबै उजुरीकर्ताहरूका लागि, कृपया गुनासो जारी राख्नुहोस्, तर ८ डलर तिर्नुपर्ने छ ।'