(Japan) 10 th August | 2022 | Wednesday | 9:06:32 PM || (Nepal) 5:51:32 PM
 
 

जापानबाट अब पृथ्वीदेखि चन्द्रमा सम्म जाने अन्तरिक्ष रेल चल्ने, यस्तो छ तयारी

eurasiantimes   POSTED ON : Thursday, 21 July, 2022 | Views : 5420

जापानबाट अब पृथ्वीदेखि चन्द्रमा सम्म जाने अन्तरिक्ष रेल चल्ने, यस्तो छ तयारी


टोकियो, जापान ।

यो कुनै चलचित्रको कथा वा गफ होइन, जापानी योजना हो । सुन्दा अपत्यारिलो लाग्न सक्छ तर जापानमा गृथ्वीबाट अन्तरिक्षसम्म रेल चलाउने गम्भिर योजना अघि बढिसकेको छ ।

जापानी योना अनुसार पृथ्वीदेखि चन्द्रमा र चन्द्रमादेखि मंगल ग्रहसम्म रेल चल्ने छ । छिमेकी देशबाट सिमासम्म रेलले छोएको नेपालमा यस्ता कुरा अपत्यारिलो लाग्न सक्ने भएपनि विश्वमै प्रविधि र विकासको चरम शिखरमा रहेको जापान भने अहिले पृथ्वीदेखि मंगल ग्रहसम्म चल्‍ने रेलबारे योजना बनाउन थालेका छन् । जसमा अनुसन्धानकर्ताहरु जुटिसकेका छन् ।

जापानको क्युटेक विश्वविद्यालयको ह्युमन स्पेसोलोजी सेन्टरका अनुसन्धानकर्ता र जापानी काजिमा कर्पोरेसनले जुलाई पहिलो साता पृथ्वीदेखि मंगल ग्रहसम्म चल्‍ने रेलको योजनाबारे जानकारी गराएका छन् ।

यो ट्रान्सपोर्टेसन प्रणालीलाई 'हेग्जागन स्पेस ट्रयाक सिस्टम' नामाकरण गरिएको छ । जहाँ 'अन्तरिक्ष रेल' प्रयोग हुने छ । यो रेल पृथ्वी, चन्द्रमा र मंगल ग्रहबीच चल्नेछ । यो रेलका स्टेसनहरू ग्रहलाई परिक्रमा गर्ने उपग्रहहरूमा हुने छ ।

यी रेलहरु जापानी बुलेट रेलहरुभन्दा ठूला हुने र रकेट इन्जिनबाट सञ्चालन हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । हरेक स्टेनसहरूमा रेलका ६ वटा कारहरू स्टेसनबाट छुट्टिनेछन् र यिनलाई एउटा षट्कोण आकारको क्याप्सुलले बोकेर लैजाने छ ।

विश्वविद्यालयको स्पेसोलोजी सेन्टरले भनेको छ 'अन्तरिक्षमा यी षट्कोणहरु प्रक्षेपण भइरहँदा हरेक सवारी एउटा बारमा रहनेछन् ताकी उनीहरू सिधा भइरहोस् ।'

बेस स्टेसनमा आएपछि षट्कोणबाट ती कारहरू पालैपालोसँग छुट्टिनेछन् । एउटा ग्रहको गुरुत्वाकर्षणको प्रभावबाट उम्कनका लागि हरेक लैजाने र ओराल्ने सवारीमा रकेट इजेक्सन उपकरणहरुको प्रयोग गरिनेछ । यसले अन्तरिक्षमा उक्त सवारीको गति पनि बढाउने उनीहरुले जनाएका छन् ।

वायुमण्डल नभएको बेला स्पेस रेलका पंखाहरु फैलने र एउटा लिफ्टको पनि प्रयोग गरिनेछ । चन्द्रमा र मंगल ग्रहमा यिनीहरु उच्च गतिको रेल्वे लाइनमा सञ्चालन हुनेछन् जहाँ एक अर्को सहर जोड्ने सञ्जाल हुनेछ ।

यी अन्तरिक्ष रेलहरु मानिसलाई कृत्रिम रुपमा पृथ्वीको जस्तै गुरुत्व बलको आभास हुने किसिमका हुनेछन् । जसबाट पृथ्वीको जस्तै अनुभव हुनेछ ।

चन्द्रमा लुनार ग्लास र मंगल ग्रहमा मार्स ग्लासको सुविधा हुनेछन् । यी ग्लासहरूमा पृथ्वीको जस्तै जंगल, पानी फोहोरा लगायत जैविक विविधता झल्कने किसिमको वातावरण हुने निर्माणकर्ताले जनाएका छन् ।

स्पेसोलोजी सेन्टरका निर्देशक युशोके यामाशिगीले गत जुलाई पहिलो साताको पत्रकार सम्मेलनमा ुअन्तरिक्ष विकासमा यस किसिमको योजना अन्य कुनै देशहरूले गर्न नसकेको बताएका छन् । उनले आफूहरुको योजना भविष्यमा मानिसहरुलाई अन्तरिक्षमा बस्‍न सक्ने प्रविधिको विकासमा सघाउ पुर्‍याउने रहेको पनि बताएका छन् ।

अनुसन्धानकर्ताहरुले यो योजना सार्वजनिक गरिरहँदा यसको लागत भने धेरै नै खर्चिलो हुनेछ । उनीहरुले एउटा सामान्य प्रोटोटाइप चाहिँ सन् २०५० सम्ममा प्रयोग गर्ने तयारी गरेका छन् । उनीहरुले सार्वजनिक गरेको योजना कार्यान्वयन र निर्माणमा सय वर्ष लाग्‍ने जनाएका छन् ।

उक्त पत्रकार सम्मेलनमा ह्युमन स्पेसोलोजी सेन्टरले भनेको छ 'अब मानव जाती पृथ्वीमा बस्ने युगबाट चन्द्रमा र मंगल ग्रहमा बस्‍ने युगतिर लम्कदै गइरहेको छ । '

योजना सार्वजनिक भएपनि कस्तो किसिमको वातावरण र अन्य सुविधाहरु आवश्यक पर्ने भन्नेबारे अध्ययन भइसकेको छैन । कस्ता प्रविधिहरुले अन्तरिक्ष रेलमा खाना, पोशाक, बसाई र अन्य सामाजिक जीवन कस्तो हुने भन्नेबारे अध्ययन जारी रहेको बताइएको छ ।