टोकियो, जापान ।
जापानी मोबाइल फोन वाहक केडिडिआई (KDDI) ले देशभरि आफ्नो फोन र डाटा संचार सेवाहरूमा ठूलो अवरोध देखिएको बताएको छ । फोन र ईन्टरनेट डाटा प्रयोग नचल्दा दशौं लाख प्रयोगकर्ता मर्कामा परेका छन् ।
केडिडिआईका अनुसार शनिबार बिहान १ः३५ बजे समस्या सुरु भएको हो । झण्डै १२ घण्टा वितिसक्दा समेत समस्या समाधान हुनसकेको छैन । शनिवार दिउँसो १ बजेसम्मपनि सेवा अवरुद्ध रहेको देखिएको छ ।
केडिडिआई मोबाइल सेवाहरूमा एयु, र यसको ब्रान्डहरू, युक्यु मोबाइल र पोभो समावेश छन् ।
कम्पनीले प्रयोगकर्तालाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ । सेवा कहिले सुचारु हुने हो थाहा नभएको कम्पनीले जनाएको छ । सेवा सुचारु गर्ने प्रयास गरिरहेको सूचनामा उल्लेख छ ।
अर्को मोबाइल सेवा प्रदायक राकुटेन मोबाईल कम्पनीले केडिडिआई सञ्जाल प्रयोग गर्ने केही क्षेत्रमा नेटवर्क सम्पर्क समस्याहरू अनुभव गरिरहेको बताएका छन् ।
मौसम विभागका अनुसार यो समस्याले मौसमको केही तथ्याङ्कको वितरणमा असर गरेको छ । तर आँधीको पूर्वानुमान अहिलेसम्म अवरोध नभएको विभागले जनाएको छ ।