(Japan) 3 rd July | 2022 | Sunday | 5:10:23 AM || (Nepal) 1:55:23 AM
 
 

इन्टर्नशीपमा रहेका व्यक्तिलाइ भर्ती गराउन छिटै मूल्यांकनको अनुमति दिँदै जापान सरकार

  POSTED ON : Wednesday, 22 June, 2022 | Views : 336

इन्टर्नशीपमा रहेका व्यक्तिलाइ भर्ती गराउन छिटै मूल्यांकनको अनुमति दिँदै जापान सरकार


टोकियो, जापान ।

जापान सरकारले परम्परागत जब हन्टिङको सिजन शुरु हुनु अगावै प्रशिक्षार्थीका रुपमा काम गरिरहेका विद्यार्थीलाई कम्पनीको भावी कर्मचारीको रुपमा मूल्यांकन गर्न कम्पनीहरुलाई अनुमति दिने निर्णय गरेको छ ।

जुन १३ मा सरकारले गरेको सो निर्णयले कर्मचारीहरुको भर्ती प्रक्रियालाई तीव्रता मिल्न सक्ने देखिएको छ ।

सरकारले जुन १ लाई जब हन्टिङको सिजन शुरुआत हुने दिनको रुपमा तोकेको छ । यस अघि भने मेको अन्त्यसम्मा सम्पन्न भएको इन्टर्नशिपलाई स्क्रिनिङ प्रक्रियाको हिस्साको रुपमा नहेरिने बताइएको थियो । तर अब भने सरकारले मेको अन्त्यअगावै सम्पन्न भएको इन्टर्नशीपलाई पनि कर्मचारी भर्ती गतिविधिमा प्रयोग गर्न सकिने भनेर मानेको छ ।

केइदानरेन र जापानका राष्ट्रिय, सरकारी र निजी विश्वविद्यालयहरुका प्रमुखले प्रतिनिधित्व गर्ने सानगाकु क्योगिकाई (उद्योग–शैक्षिक परिषद्)ले अप्रिलमा नै सरकारसँग प्रशिक्षणका क्रममा रहेका विद्यार्थीहरुका जानकारीलाई कर्मचारी नियुक्ति प्रक्रियामा प्रयोग गर्न अनुमति मागेका थिए ।

यसको प्रतिक्रियामा शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय र श्रम मन्त्रालयले जुन १३ मा इन्टर्नशिप प्रवद्र्धन गर्ने आधारभूत तरिका संसोधन गर्न संयुक्त बैठक बसेका थिए । सो बैठकमा तीन ओटा मन्त्रालयबीच छिटै इन्टर्नशीप मूल्यांकनको अनुमति दिने सहमति भएको हो ।

यो निर्देशिकामा गरिएको करीब साढे ६१ वर्षयताको पहिलो संसोधन हो । सन् १९९७ मा इन्टर्नशीपसम्बन्धी कानून कार्यान्वयनमा आएयताको चाँहि यो तेस्रो संसोधन भएको बताइएको छ ।

चार वर्षे कलेज, विश्वविद्यालय तहको अध्ययन गरिरहेका विद्यार्थीहरुलाई भर्ती गर्दा कम्पनीहरुलाई तेस्रो वर्षको गर्मीयामको छुट्टीको समयमा इन्टर्नशीपमा सहभागी भएका विद्यार्थीहरुको मूल्यांकन प्रयोग गर्न अनुमति दिइएको छ । यो नियम छिटोमा सन् २०२३ को गर्मीयाममा हुने इन्टर्नशीपमा लागू हुनेछ ।