टोकियो, जापान ।
पूर्वी जापान रेल्वे कम्पनी अर्थात् जेआर इष्ट र अन्यले उएनो स्टेशनमा स्टेशनमा भएका घोषणा र रेल आइपुग्न लागेको वा प्रस्थान गर्न लागेका आवाजलाई टेक्स्टमा परिणत गर्ने परीक्षण शुरु गरेका छन् । बहिराहरु र श्रव्य क्षमता कमजोर भएकाहरुलाई सघाउनका लागि बुधबार देखि सो परीक्षण शुरु गरिएको हो ।
यो प्रणालीमा प्लेटफर्ममा जडान गरिएको पेय पदार्थ बेच्ने भेन्डिङ मेशिनमाथि राखिएको स्क्रिनमा माइक्रोफोनबाट संकलन गरेका घोषणा र आवाजलाई टेक्स्टमा देखाइन्छ । यसमा कृत्रिम बौद्धिकताको प्रयोग गरेर घोषणा र गुडिरहेको रेलको ध्वनि समेत आदिलाई तत्कालै शब्द र अभिव्यक्तिमा परिणत गरिन्छ ।
घोषणाको सन्दर्भ र ध्वनिअनुरुप टेक्स्टको फन्ट र आकार प्रयोग हुन्छ । यो प्रणालीमा टेक्स्टलाई सांकेतिक भाषामा पनि देखाइएको छ । यो प्रणाली डिसेम्बर १४ सम्म जडान हुनेछ ।
यसबाट संकलन हुने तथ्यांकलाई व्यवहारिक प्रयोगमा ल्याउने आशा गरिएको छ । यो परीक्षणमा फुजिसु, दाई निप्पोन प्रिन्टिङ कम्पनी र जेआर इष्ट क्रस स्टेशन कम्पनी पनि सहभागी छन् ।
खानागावा प्रिफेक्चरको कावासाकी शहरस्थित बहिराहरुको लागि खोलिएको एउटा विद्यालयका विद्यार्थीले पेश गरेको अवधारणाका आधारमा सो प्रणाली बनाइएको हो ।
विद्यालयमा गत वर्षको जुलाईमा आयोजना भएको एउटा वर्कशपका बेलामा ती विद्यार्थीले सो अवधारणा पेश गरेका थिए ।