(Japan) 3 rd July | 2022 | Sunday | 5:53:20 AM || (Nepal) 2:38:20 AM
 
 

जापानी कम्पनीले बनायो विश्वकै सानो चर्पी, जुन ब्याग वा खल्तिमा राखेर लिएर हिंड्न मिल्छ

  POSTED ON : Tuesday, 14 June, 2022 | Views : 322

जापानी कम्पनीले बनायो विश्वकै सानो चर्पी, जुन ब्याग वा खल्तिमा राखेर लिएर हिंड्न मिल्छ


नागोया, जापान ।

जापानको नागोयामा रहेको एउटा स्टार्टअप कम्पनीले सानो, ब्याग वा खल्तिमा राखेर यताउता लैजान मिल्ने चर्पी/शौचालय बनाएको छ ।

यो विश्वको सबैभन्दा सानो टोइलेट (चर्पी) भएको दाबी सो शौचालय निर्माता कम्पनी कोकेनावा इंकको छ । जापानभर यो शौचालय विपद् किटको अभिन्न हिस्सा बन्ने आशा पनि कम्पनीले गरेको छ ।

जापानमा प्राकृतिक विपद् लगायत आकस्मिक अवस्थाका लागि भनेर अधिकांश घर परिवारले खाद्यान्न, औषधि आदिको व्यवस्था गरेका हुन्छन् । तर १६ दशमलव ९ प्रतिशत घरपरिवारसँग मात्रै आकस्मिक शौचालय हुने सन् २०१८ मा अनुसन्धान समूह जापान ट्वाइलेट ल्याबोले गरेको सर्वेक्षणले देखाएको थियो ।

सन् २०१९ मा ताइफु हागिबिसपछि नागोयाको एक शहरमा स्वयम्सेवा दिने क्रममा बोक्न मिल्ने सानो शौचालय बनाउने अवधारणा कम्पनीका ३० वर्षिय हाकिम योशिनोरी कोकेनावाको मनमा आएको थियो ।

त्यति बेला शौचालय प्रयोग गर्ने मानिसको भिड थियो । एक पटक शौचालय जान मानिसहरुले लाइनमा कम्तिमा पनि ३० मिनेट कुर्नु परेको दृश्य देखेपछि सो समस्या समाधान गर्ने विचार कोकेनावाको मनमा आयो ।

विपद्को बेलामा सुरक्षित आश्रय स्थलमा बस्दा अधिकांश मानिसको चिन्ता शौचालयको प्रयोग हुने गरेको पाइन्छ । समयमा शौचालय प्रयोग गर्न नपाएकै कारण मानिसहरु बिरामी भएका दृष्टान्त पनि छन् ।

आकस्मिक समयमा प्रयोग गर्न सकिने शौचालयको स्वामित्व बढाउन कम्पनीले सन् २०२० मा ७ सेमी अग्लो ६.५ सेमी फराकिलो पकेट ट्वाइलेट बनाएको थियो ।

यी शौचालय महिलाको मेकअप ब्यागमै अटाउन सकिने र मानिसहरुले यसलाई सहजै बोक्ने आशा आफूले गरेको कोकेनावाको भनाइ छ ।

अहिलेसम्म कम्पनीले ५० हजार थान पकेट ट्वाइलेट बेचिसकेको छ । युक्रेनलाई कम्पनीले ६ हजार ओटा त्यस्ता शौचालय दान पनि दिएको छ ।