(Japan) 29 th March | 2024 | Friday | 1:43:09 PM || (Nepal) 10:28:09 AM
 
 


जापानी मन्त्रीले भने ’आपूर्तिको विकल्पबिना रुसी एलएनजीमा प्रतिबन्ध लगाउन मुस्किल’

  POSTED ON : Thursday, 12 May, 2022 | Views : 1620

जापानी मन्त्रीले भने ’आपूर्तिको विकल्पबिना रुसी एलएनजीमा प्रतिबन्ध लगाउन मुस्किल’


टोकियो, जापान ।

वैकल्पिक आपूर्तिकर्ता नभेटिएसम्म सात औद्योगिक देशहरुको समूह जी सेभेनले रुसी तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयातमा प्रतिबन्ध लगाउन कठिन हुने जापानका व्यापार मन्त्रीले बताएका छन् ।

युक्रेनमाथि रुसले गरेको आक्रमणको प्रतिक्रियामा जापान समेत समूहका सदस्य देशहरुले रुसी कोइला र तेल आयातमा प्रतिबन्ध लगाउने वा चरणबद्ध रुपमा घटाउँदै लैजाने निर्णय गरेका छन् ।

यो सूचिमा थपिने एलएनजी अर्को ऊर्जा स्रोत हुन सक्ने अड्कल अनुमान पछिल्लो समय बढेको छ ।

वैकल्पिक आपूर्ति पाउन कठिन हुन सक्ने जापानका अर्थ, व्यापार तथा उद्योग मन्त्री कोइची हागिउदाले मंगलबार एउटा पत्रकार सम्मेलनमा भनेका थिए ।

जी सेभेनका सबै सदस्यहरुले वैकल्पिक आपूर्ति सुरक्षित नगरीकन रुसबाट एलएनजी आयातमा बन्देज लगाउने पहल एक साथ गरे भने ऊर्जा क्षेत्रसमेत विश्व अर्थतन्त्र अनिश्चयमा होमिने चेतावनी उनले दिएका छन् ।

भविष्यमा एलएनजी पनि प्रतिबन्धको सूचिमा थपिन सक्ने सम्भावनाको उनले अस्वीकार भने गरेनन् । रुसी एलएनजीमा यूरोपको निर्भरता निकै धेरै छ । अमेरिकाले मार्चमा नै रुसबाट तेल, एलएनजी र कोइला आयातमा बन्देज लगाउने निर्णय गरिसकेको छ । तर अझै अमेरिकाले आयात पूर्ण रोकिसकेको छैन ।

तेलको मामिलामा चाँहि मध्यपूर्व वा अन्यत्र उत्पादन बढाएर अस्थायी रुपमा नपुगेको आपूर्तिको भपाई भने गर्न सकिने तर्फ हागिउदाले औंल्याएका छन् ।

जी सेभेनमा बेलायत, क्यानडा, जर्मनी, फ्रान्स, इटली, जापान र अमेरिका सहित यूरोपेली संघ आबद्व छन ।