(Japan) 3 rd July | 2022 | Sunday | 6:08:54 AM || (Nepal) 2:53:54 AM
 
 

जापानले इन्धनमा दिइरहेको सहुलियतको सीमा रकम बढाउने

  POSTED ON : Sunday, 24 April, 2022 | Views : 606

जापानले इन्धनमा दिइरहेको सहुलियतको सीमा रकम बढाउने


टोकियो, जापान ।

जापान सरकारले खुद्रा बजारमा पेट्रोल र अन्य इन्धनको मूल्य वृद्धि नियन्त्रण गर्न थोक तेल विक्रेताहरुलाई दिँदै आएको सहुलियतको सीमा रकम बढाउने भएको छ ।

सरकारले यस्तो खालको सीमा प्रतिलिटर १० येनले बढाउने योजना बनाएको आफूले थाहा पाएको भन्दै जिजी प्रेसले शुक्रबार समाछार छापेको हो । समाचार अनुसार थोक विक्रेताहरुलाई प्रतिलिटर अधिकतम् २५ येनसम्म सहुलियत दिइएकोमा रकमको सीमा बढाएर ३५ येनमा पुर्याइनेछ ।

यस योजनालाई हालैका दिनमा देशभर महँगी बढेर अर्थतन्त्रमा परेको प्रभाव कम गर्न सरकारले शुक्रबार नै तयार पारेको आर्थिक प्रोत्साहन प्याकेजको मस्यौदामा समावेश गरिएको छ ।

सरकारले प्याकेजबाट छिटोमा मंगलबारसम्म निर्णय गर्ने भएको छ । सहुलियतको सीमा बढाएर सरकारले नियमित खालको पेट्रोलको औसत मूल्य देशभरमा १६८ येन प्रतिलिटरमा ल्याउन खोजेको छ । यस अघि सरकारको लक्ष्य इन्धनको भाउ प्रतिलिटर १७२ आसपास राख्नु रहेको थियो ।

सहुलियत कार्यक्रम पनि सेप्टेम्बरको अन्त्यसम्म राखिनेछ । तेलको भाउ सीमा तोकिएको ३५ येनले धान्न सकेन भने बढी भएको रकम आधा भर्पाई गर्न सरकारले सहायता प्रणाली पनि ल्याउँदैछ ।

सरकारले सहुलियत कार्यक्रमका लागि चालु आवको सञ्चिति कोषबाट मेमा ३ खर्ब येन छुट्याउने घोषणा गरेको छ । जुन र सेप्टेम्बरको बीचमा यो कार्यक्रम कार्यान्वयनका लागि १० खर्ब येन भन्दा बढी चाहिने अनुमान गरिएको छ । यसको पूर्ति भने अहिले चलिरहेको संसदको सत्रमा पेश गरिने पूरक बजेटबाट गर्ने सरकारको योजना छ ।