(Japan) 3 rd July | 2022 | Sunday | 4:45:30 AM || (Nepal) 1:30:30 AM
 
 

जापानमा कोभिड महामारिपछि विदेशीको आम्दानी घट्यो

  POSTED ON : Saturday, 23 April, 2022 | Views : 880

जापानमा कोभिड महामारिपछि विदेशीको आम्दानी घट्यो


शिजुओखा, जापान ।

जापानमा झन्डै आधा विदेशीहरुको आम्दानी घटेको छ । पूर्वी जापानको शिजुओका प्रिफेक्चरमा बसोबास गर्दै आएका विदेशी नागरिकहरुमाझ एउटा नागरिक समूहले हालै गरेको एउटा सर्वेक्षणले यस्तो देखाएको हो ।

क्लब नोबिको मिशिमाले गरेको सर्वेक्षणमा ४८ प्रतिशत सहभागीले आम्दानी महामारी पूर्वको स्तरभन्दा घटेको बताएका छन् । यो अघिल्लो सर्वेक्षणकै हाराहारी हो । सन् २०२० को जुलाईमा गरिएको अघिल्लो सर्वेक्षणमा यस्तो बताउनेको संख्या करीब ५० प्रतिशत नै थियो् । आय नै नभएको बताउनेको संख्या भने १५ प्रतिशतबाट घटेर अहिले २ प्रतिशतमा झरेको छ ।

७५ प्रतिशत सहभागीहरुले महामारी पूर्वको तुलनामा आफूहरु बाहिर कम गएको बताएका छन् । यो अघिल्लो सर्वेक्षणको भन्दा १२ प्रतिशत अंक कम हो । १८ प्रतिशतको बाह्य गतिविधि त्यति बेलाको हाराहारीमा छ । यो भने ९ प्रतिशत अंक धेरै हो ।

पहिलाको भन्दा धेरै बाहिर जाने गरेको भन्ने जवाफ ३ प्रतिशतको छ । अघिल्लो सर्वेक्षणमा यो संख्या शून्य प्रतिशत थियो । नगर सरकारले इमेल र सामाजिक सञ्जाल आदिबाट विदेशी बासिन्दामाझ सूचना प्रवाह कसरी गरिरहेको छ भनेर सोधिएको प्रश्नमा २० प्रतिशतले मात्रै आफूलाई यो सेवाबारे थाहा भएको बताएका छन् ।

सर्वेक्षणमा शिजुओकाको मिशिमा र नुमाजु नगरमा बस्ने १३१ जना विदेशी नागरिकलाई समावेश गरिएको थियो । यीमध्ये ४३ जना भियतनाम, १९ जना फिलिपिनी, १८ जना पेरुली र १० जना ब्राजेलीहरु पनि थिए ।