(Japan) 3 rd July | 2022 | Sunday | 6:19:37 AM || (Nepal) 3:04:37 AM
 
 

जापानमा पेट्रोलको भाउ घट्न थाल्यो

  POSTED ON : Friday, 22 April, 2022 | Views : 956

जापानमा पेट्रोलको भाउ घट्न थाल्यो


टोकियो, जापान ।

जापानमा पेट्रोलको भाउ घटेको छ । एक हप्ताअघिको तुलनामा सोमबारसम्ममा देशभरमा नियमित खालको पेट्रोलको औसत मूल्य शून्य दशमलव ५ येनले घटेर १७३ दशमलव ५ येनमा आएको छ । योसँगै लगातार दोस्रो हप्ता पनि घरेलु बजारमा पेट्रोलको भाउमा कमी आएको छ ।

यसले चीनमा कोरोना भाइरसको संक्रमण बल्झिन थालेको चिन्ताका कारण विश्वबजारमा कच्चा तेलको भाउमा आएको कमी र जापान सरकारले पेट्रोल पम्पमा भाउ घटाउन दिइरहेको सहुलियतको प्रभाव झल्काएको छ ।

आगामी हप्ता पनि पेट्रोलको भाउमा न्यून कमी आउने अपेक्षा गरिएको छ । यद्यपि, युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण अमेरिका, जापान र यूरोपेली देशहरुले रुसमाथि कठोर प्रतिबन्ध लगाइरहेका छन् । प्रतिबन्ध झनै कसिलो हुने चिन्ताबीच विश्वबजारमा तेलको भाउ भने उच्च स्तरमै छ ।

बिहिबारदेखि एक हप्ताको लागि जापान सरकारले तेलका थोक बिक्रेताहरुलाई दिने सहुलियतको रकम बढाएर प्रतिलिटर २५ येनको अधिकतम् सीमासम्म पुर्याउँदैछ । मुख्य मुद्राको तुलनामा जापानी येनको भाउमा आएको तीव्र अवमूल्यनका कारण पनि पेट्रोलको भाउ उकालो लाग्ने सम्भावना छ ।