टोकियो, जापान ।
गत महीना वस्तु व्यापारमा जापानलाई ४ खर्ब १२ अर्ब येनभन्दा धेरै घाटा भएको छ । अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको एउटा प्रारम्भिक प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनअनुसार मार्चमा बाँकी विश्वसँगको व्यापारमा जापानले ४ खर्ब १२ अर्ब ४० करोड येन (३ अर्ब २० करोड अमेरिकी डलर) घाटा बेहोरेको छ । योसँगै लगातार आठौं महीना पनि वस्तु व्यापारमा जापानलाई घाटा भएको छ ।
प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा गत महीना जापानको निर्यात १४ दशमलव ७ प्रतिशतले बढेको छ । सोही अवधिमा आयातमा ३१ दशमलव २ प्रतिशतको वृद्धि देखिएको छ । अमेरिकी डलरको तुलनामा जापानी येनको तीव्र अवमूल्यन भइरहँदा आयात महसुल बढेर व्यापार घाटा बढिरहेको छ ।