टोकियो, जापान ।
जापानले रुसबाट काठपात (लम्बर) आयातमा बन्देज लगाएपछि जापानमा यसको भाउ आकाशिएको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणको प्रतिकार गर्दै जापानले रुसबाट आयात हुने लम्बरसमेत ३ दर्जनभन्दा बढी वस्तुको आयातमा रोक लगाएको छ ।
फलतः जापानी बजारमा लम्बरको भाउ यस अघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । यसले घरको लागत पनि बढ्ने अनुमान गर्न लागिएको छ ।
जापानले आयात गर्ने काठको भिनिर शिटमा रुसी हिस्सा ८० प्रतिशतभन्दा धेरै छ । यसलाई प्लाइवूड बोर्ड बनाउन प्रयोग गरिन्छ । जापानले आयात गर्ने करीब २० प्रतिशत र्याफ्टर पनि रुसबाट आउँछ ।
तर सरकारले प्रतिबन्ध लगाएपछि जापानी निर्माण कम्पनीहरुले रुसी काठपात अर्डर रोकेका छन् । कोरोना भाइरसको महामारीबीच जापानमा घर निर्माण ५ देखि १० प्रतिशत महँगो बनेको थियो ।
निर्माण सामाग्रीको भाउ बढी नै रह्यो भने भविष्यमा घर निर्माणको लागत थप ५ देखि १० प्रतिशतले बढ्ने र यसले समग्रमा घरको मूल्य बढाउने अनुमान बढेको छ ।
बीओजेले अप्रिल १२ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार मार्चमा लम्बरको भाउ गत वर्षको सोही अवधिको तुलनामा करीब ६० प्रतिशतले बढेर यस अघि कहिले नदेखिएको स्तरमा पुगेको छ । गत वर्षयता समुद्रबाट हुने ढुवानीमा आएको कमी र उच्च मागका कारण मूल्य बढेको विज्ञहरुले बताइरहेका छन् ।