टोकियो, जापान ।
जापान सरकारले न्यून आय भएका घरपरिवारका बालबालिकालाई ५० हजार येन नगद वितरण गर्नेबारे विचार गरिरहेको छ ।
बढ्दो महँगीको प्रभाव कम गर्ने बृहत प्याकेज अन्तर्गत यस्तो गर्न लागिएको यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै क्योदोले बुधबार समाचार छापेको छ ।
यस योजना अन्तर्गत एकल अभिभावक भएका १८ वर्ष वा सो भन्दा कम उमेरका केटाकेटी भएका घरपरिवार वा न्यून आयका कारण आवासीय करमा छूट दिइएका घरपरिवारलाई ५० हजार येन दिइने स्रोतको भनाइ छ ।
यो कार्यक्रमका लागि चालु आवको बजेटबाट सञ्चिति कोषमा विनियोजन गरिएको करीब २ खर्ब येन चलाइनेछ । यसबाहेक पनि सरकारले संघर्षरत घरपरिवारमाझ १ लाख येन नगद वितरण योजना विस्तार गर्नेबारे पनि सोचिरहेको छ ।
अहिले सरकारले आर्थिक वर्ष २०२१ मा आवास कर छूट दिएको घरपरिवारलाई १ लाख येन नगद वितरण गरिरहेको छ ।
राहत कार्यक्रमका लागि योग्य नभएका तर मार्च ३१ मा सकिएको आवमा निर्धारित मापदन्डमा पर्नेहरुलाई पनि १ लाख येन दिनेबारे सरकारले विचार गरिरहेको स्रोतले बताएको छ । प्रधानमन्त्री फुमिओ किशिदाले आगामी महीना आर्थिक प्याकेजको विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।