(Japan) 3 rd July | 2022 | Sunday | 6:06:56 AM || (Nepal) 2:51:56 AM
 
 

टोकियोको अपार्टमेन्ट अहिलेसम्मकै महँगो

  POSTED ON : Wednesday, 20 April, 2022 | Views : 1050

टोकियोको अपार्टमेन्ट अहिलेसम्मकै महँगो


टोकियो, जापान ।

जापानको राजधानी टोकियो र आसपासका क्षेत्रमा अपार्टमेन्टको भाउ अहिलेसम्मकै कीर्तिमानी उचाईमा उक्लिएको छ ।

आर्थिक वर्ष २०२१ मा औसतमा अपार्टमेन्टको भाउ ६ करोड ३६ लाख येन (५ लाख ३ हजार डलर)मा पुगेको अनुसन्धाता संस्था रियल इस्टेट इकोनोमिक इन्ष्टिच्यूटले बताएको छ । यो तीन दशकअघि जापानमा बबल इकोनोमी उत्कर्षमा भएको बेलाको भन्दा पनि महँगो हो ।

अहिले टोकियो र आसपासका चिबा, खानागावा र साइतामामा अपार्टमेन्टको औसत मूल्य आर्थिक वर्ष १९९० मा कायम भएको यस अघिको कीर्तिमान भन्दा पनि धेरै हो । त्यति बेला यहाँ अपार्टमेन्टको औसत मूल्य ६ करोड २१ लाख ४० हजार येन थियो ।

अघिल्लो आवको तुलनामा गत आवमा साइतामामा मूल्य ६ दशमलव १ प्रतिशतले बढेको छ । टोकियोका २३ वडामा भाउ ११ दशमलव ७ प्रतिशतले बढेर ८ करोड ४४ लाख ९० हजार येनमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । अपार्टमेन्टको भाउ यहाँ ८ करोड नाघेको यो सन् १९९१ यता पहिलो पटक हो ।

मध्य टोकियोका गगनचुम्बी अपार्टमेन्ट भवनमा लक्जरी प्रोपटिजको सुदृढ मागका कारण बजार बुलिश रहेको छ । श्रम लागत र निर्माण सामाग्रीको भाउमा भइरहेको वृद्धिका कारण पनि अपार्टमेन्टको भाउ बढेको हो ।

अमेरिकी डलरको तुलनामा जापानी येन कमजोर बनेकोले जापानमा आयातित निर्माण सामाग्री महँगो हुने र घर तथा अपार्टमेन्टको भाउ बढ्ने क्रम केही समय जारी रहने अपेक्षा गरिएको छ । निर्माण क्षेत्रमा कामदारको अभावले पनि श्रम लागत बढ्दा मूल्य प्रभावित हुने देखिएको छ ।