टोकियो, जापान ।
अमेरिकी डलरको तुलनामा जापानी येनको अवमूल्य हुने क्रम पछिल्लो केही दिनयता जारी छ । मंगलबार टोकियोमा बिहानी कारोबारमा प्रतिडलर येन १२७ भन्दा माथि आएको छ ।
अमेरिका र जापानमा ब्याजदरमा अन्तर थप फराकिलो हुने अनुमानमा अमेरिकी ट्रेजरीको प्रतिफल बढेपछि येन सस्तो हुने क्रमले निरन्तरता पाएको हो ।
मंगलबार बिहान १० बजेतिर टोकियोमा डलर येन विनिमय दर १२७ दशमलव २८–३१ येनमा आएको थियो । यो सन् २००२ को मेयताकै न्यून हो । सोमबार साँझ ५ बजे न्यूयोर्कमा यो दर १२६ दशमलव ९३ देखि १२७ दशमलव शून्य ३ येन थियो भने टोकियोमा १२६ दशमलव ६३–६५ येन थियो ।
आगामी महीना फेडले ५० आधार अंकले ब्याजदर बढाउने न्यूयोर्क फेडका अध्यक्ष जोन विलियम्सले बिहिबार बताएयता जापानमा डलर महँगो भइरहेके छ ।
अमेरिका र जापानमा ब्याजदरबीचको अन्तर थप फराकिलो हुने अनुमानमा लगानीकर्ताहरुले येन छाडेर डलर किन्न थालेका छन् । ब्याजदर अन्तर बढेसँगै प्रतिफलको अन्तर बढ्ने भएपछि पछिल्लो समय येनमा सेल–अफ देखिन थालेको छ ।